फिल्म । नेपाली फिल्म ‘महाराजधिराज’मा अभिनेता पुष्प खड्का पनि जोडिएका छन् । केही समयदेखि ठूलो पर्दामा अनुपस्थित रहेका पुष्प यसमार्फत देखिन लागेका हुन् । स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ टिमले पुष्पलाई आइतबार अनुबन्ध गरेको हो । पुष्प आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै निकै उत्साहित देखिएका छन् । उनले फिल्मले आफूलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरेका छन् । ‘महाराजधिराज’मा आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह यसअघि नै अनुबन्ध भइसकेका छन् । नायिकामा वर्षा राउत र वर्षा शिवाकोटी फाइनल भएका छन् ।
‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ । यो फिल्ममा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो । यसका निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ ।









