‘जिर्मा’माथि परिचर्चा सम्पन्न

साहित्य । नागार्जुन वाङ्मय प्रतिष्ठानको आयोजनामा कवि तारादेवी सुनुवारको नवीनतम कविता सङ्ग्रह ‘जिर्मा’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार, विश्लेषक तथा विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूले कृतिको वैचारिक, साहित्यिक तथा सामाजिक पक्षमाथि गहन विमर्श गरेका थिए ।

कार्यक्रमका प्रमुख टिप्पणीकार राजनीतिक विश्लेषक, कवि तथा साहित्यकार आहुतिले ‘जिर्मा’ लाई पहिचानको मुद्दासँग जोडेर विश्लेषण गरे । पहिचानको अवधारणालाई भाषा, संस्कृति र सभ्यतासँग जोड्दै उनले भने, ‘पहिचान भनेको भाषा, संस्कृति र सभ्यताको समष्टिगत रूप हो। जबसम्म हामीले आफ्नो भाषा, संस्कृति र सभ्यता बचाउन सक्दैनौँ, तबसम्म हाम्रो पहिचान रहन सक्दैन।’ उनका अनुसार ‘जिर्मा’ ले यही अस्तित्वको संघर्षलाई कवितामार्फत सशक्त रूपमा अभिव्यक्त गरेको छ ।

अर्का टिप्पणीकार प्रगतिशील चिन्तक तथा प्राध्यापक डा. जगदीशचन्द्र भण्डारीले कविता सङ्ग्रहको बहुआयामिक पक्षमाथि प्रकाश पारे । उनले सङ्ग्रहमा सीमान्तकृत समुदायका स्वर, वैयक्तिक तथा वर्गीय प्रेम, सामाजिक विकृति र पहिचानका विविध आयाम समेटिएको उल्लेख गर्दै भने, ‘नेपाली साहित्यको पहिचानवादी आन्दोलनमा यो कविता सङ्ग्रह आफैँमा एउटा सशक्त दस्तावेजका रूपमा स्थापित हुनेछ ।’

कार्यक्रममा कृतिकार तारादेवी सुनुवारले आफ्ना केही प्रतिनिधि कविता वाचन गरेकी थिइन् । आफ्ना सिर्जनाको रचनागर्भबारे प्रकाश पार्दै उनले विभिन्न कालखण्डमा लेखिएका कविताहरू भएकाले सङ्ग्रहमा विविध विषयवस्तु र परिवेश समेटिएको बताइन् ।

साहित्यिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा वक्ताहरूले ‘जिर्मा’ ले नेपाली प्रगतिशील साहित्य तथा पहिचानवादी साहित्यिक आन्दोलनमा नयाँ र सशक्त योगदान पुर्‍याएको निष्कर्ष व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्