१८ फिल्म फ्लप हुँदा पनि झुकेनन् अल्लू अर्जुन

फिल्म । तेलुगु फिल्मका सुपरस्टार अल्लू अर्जुन आज ‘ग्लोबल स्टार’ को रूपमा परिचित छन् । लगातार ब्लकबस्टर फिल्महरू दिएर उनले आफ्नो छुट्टै पहिचान बनाएका छन् । विशेषगरी ‘पुष्पा’ फिल्मको दुईवटा श्रृंखलाले उनलाई विश्वभरका दर्शकमाझ लोकप्रिय बनायो । यी दुई फिल्मको सफलतापछि उनलाई ठूलो बजेटका फिल्महरूबाट लगातार प्रस्ताव आइरहेको छ भने उनको पारिश्रमिक पनि आकासिएको छ । अब उनी चाँडै नै ‘थेरी’ का निर्देशक एटलीको फिल्ममा काम गर्ने तयारीमा छन् ।

तर, यो सफलताको शिखरमा पुग्नुअघि अल्लू अर्जुनले असफलताको पनि सामना गरेका थिए । हालै वर्ल्ड अडियो भिजुअल इन्टरटेनमेन्ट समिटमा अतिथिको रूपमा सहभागी भएका उनले आफ्ना १८ वटा फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न नसकेको बताएका छन् । यसपछि उनले एक वर्ष फिल्मबाट ‘ब्रेक’ लिएको खुलासा गरेका छन् ।

अल्लू अर्जुनले भनेका छन्, ‘मेरा १८ वटा फिल्म बक्स अफिसमा फ्लप भए । ती फिल्महरू दर्शकलाई आकर्षित गर्न असफल भए । यसपछि मैले ६ महिना ‘ब्रेक’ लिने विचार गरेँ । तर, भूलवश त्यो ‘ब्रेक’ १२/१३ महिनाको भयो । सुरुमा ६ महिना म आफैं ‘ब्रेक’ लिन चाहन्थेँ ताकि मैले अब के गर्ने भनेर सोच्न सकूँ । मैले एक वर्ष कुनै फिल्ममा काम गरिनँ। र, त्यो समय मैले आफ्नो करियरको बारेमा गम्भीर रूपमा विचार गरेँ ।’

एक वर्षको विश्रामपछि भने उनले आफ्नो करियरका तीनवटा सबैभन्दा ठूलो हिट फिल्म दिए । जसमध्ये ‘अला वैकुन्ठपुरमलो’ एक थियो । त्यसपछि आएका ‘पुष्पा’ का दुई श्रृंखलाले त सफलताको नयाँ कीर्तिमान नै कायम गरे । अहिले फर्केर हेर्दा उनलाई त्यो ‘ब्रेक’ लिने निर्णय सही लागेको छ । उनी भन्छन्, ‘एक वर्षको विश्राम मेरो लागि निकै सहयोगी साबित भयो। त्यो मेरो जीवनको सबैभन्दा राम्रो ‘ब्रेक’ थियो ।’

कमेन्ट गर्नुहोस्