२५ वर्षपछि ‘जार’ मा भनेजस्तो काम गर्न पाएँ : झुमा लिम्बू

फिल्म । गायिका तथा संगीतकार झुमा लिम्बूले फिल्म ‘जार’ मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । आफ्नो सांगीतिक करियरको २५ वर्षमा बल्ल आफूले भनेजस्तो काम गर्न पाएको उनको भनाइ छ ।

‘म्युजिक गर्दै जाँदा, काम गर्दै जाँदा ठिक मैले भनेको जस्तो काम गर्न पाएको प्लेटफर्म हो, फिल्म हो ‘जार’ । मैले गरिरहेको खालको म्युजिक गर्नुपर्यो भन्दै मान्छे आएपछि मैले नाइँ भन्ने कुरै आएन । त्यसैले जारमा काम गरेँ।’

आफ्नो २५ वर्षे सांगीतिक यात्रामा ‘जार’ मा गरेको कामप्रति उनी सन्तुष्ट छिन् । फिल्का पात्रहरू लिम्बू गाउँमा पुगेपछि आफूले लिम्बू समुदायको संगीतमा काम गर्न पाएकोमा उनले खुसी व्यक्त गरिन् । झुमाले पूर्वी पहाडी जिल्ला र लिम्बू समुदायको संस्कृति, संस्कार, लय र ताललाई आफ्नो संगीतमा उतारेकी छन्, जसलाई दर्शकले निकै रुचाएका छन् । ‘जार’ मा गीतसँगै पात्रको यात्रामा समावेश गरिएका गीतहरूलाई झुमा आफैँले तयार पारेकी हुन् र गाएकी छन् ।

सन् १८०० को दशकको वास्तविक घटनामा आधारित यो फिल्म यही शुक्रबार (वैशाख २६ गते) देखि देशभर प्रदर्शनमा आउँदैछ । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित उक्त फिल्मलाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् । फेरि टेल पिक्चर्सद्वारा निर्मित ‘जार’ सामाजिक विषयमा बनेको भए पनि यो एक कम्प्लिट प्याकेज भएको निर्देशक लामाको दाबी छ । त्यसैले उनी ‘जार’ ले दर्शकको मन जित्नेमा ढुक्क छन् ।

फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको छायांकन सिक्किममा गरिएको हो ।

‘जार’ को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन् । सरवानन इलावार्सुले छायांकन गरेको यो फिल्मको सम्पादन अखिलेश राईले गरेका छन् भने संगीत झुमा लिम्बू र गंगा थापाले सिर्जना गरेका छन् ।

कमेन्ट गर्नुहोस्