फिल्म । म्युजिक भिडियो निर्देशनमा स्थापित नाम माइकल चन्दले निर्देशन गर्न लागेको पहिलो फिल्म ‘राम नाम सत्य’ को निर्माण धमाधम अगाडि बढिरहेको छ । फिल्मको स्क्रिप्ट तयार भएसँगै कलाकार अनुबन्धको काम तीव्र गतिमा भइरहेको छ । यसअघि नै अभिनेता विराज भट्ट यो फिल्ममा अनुबन्धित भइसकेका छन् । उनको भूमिकाबारे निर्माण पक्षले केही खुलाएको छैन ।
बुधबार फिल्मको मुख्य भूमिकाका लागि अभिनेता सुशील श्रेष्ठसँग निर्माण टिमले औपचारिक सम्झौता गरेको छ । स्क्रिप्ट पढेपछि आफू निकै उत्साहित भएको सुशीलले बताएका छन् । एक्सन, प्रेम र सस्पेन्सले भरिएको ‘राम नाम सत्यः पर्दा पछाडिको पर्दा’ मा दर्शकले सुशीलको फरक अवतार देख्न पाउनेछन् ।
फिल्मका लागि अब मुख्य नायिका र केही अन्य कलाकारहरू छनोट गर्न बाँकी रहेको निर्माण पक्षले जानकारी दिएको छ । माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ। फिल्मका कार्यकारी निर्माताहरूमा डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह रहेका छन् । निर्माण पक्षले केही महिनाभित्रै फिल्मको छायांकन सुरु गर्ने तयारी गरिरहेको छ ।










