फिल्म । आउँदो असोजको तेस्रो साता प्रदर्शनमा आउने फिल्म ‘२ नम्बरी’को टिमले टाइटल गीत प्रतियोगीताको आह्वान गरेको छ । उत्कृष्ट गीतलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । साथै, उक्त गीतलाई रेकर्ड गराएर फिल्ममा समेत समावेश गरिने निर्माणपक्षको भनाई छ ।
लोक, आधुनिक, शास्त्रीय वा पाश्चात्य जुनसुकै शैलीको गीत भएपनि फरक नपर्ने निर्माणपक्षले बताएको छ । तर, कुनै पनि व्यक्तिले एउटा सिंगो गीत कम्पोज गरेर रफ फाइल पठाउनुपर्ने मेकरले बताएका छन् । आवश्यक परेको खण्डमा निर्माणपक्षले नै लोकप्रिय गायक–गायिकाको स्वरमा रेकर्ड गर्ने निर्देशक दीपेन्द्र लामाले बताए । भदौको ३१ गतेभित्र गीत तयार गरेर पठाउनुपर्नेछ । तयार भएको गीत 2numbarifilm@gmail.com इमेल ठेगानामा पठाउनुपर्नेछ ।
गीत छनोट प्रक्रिया निष्पक्ष बनाउनका लागि निर्माण पक्षले निर्णायक समितिका सदस्यहरुको नामलाई गोप्य राखेको छ । किरण नेपालीको प्रस्तुति र दीपेन्द्र लामाको निर्देशन गरेको ‘२ नम्बरी’ आगामी असोज २१ गते रिलिज हुनेछ ।










