फिल्म । अभिनेत्री स्मिता लामिछाने निर्देशक अनिल बुढा मगरको आगामी फिल्म ‘मितज्यू’ मा अनुबन्धित भएकी छिन् । निर्माण टोलीले अभिनेत्री लामिछानेको जन्मदिनको अवसर पारेर यो घोषणा गरेको हो । निर्मात्रीसमेत रहेकी स्मिताले ‘१२ सत्ताइस’ बाट नेपाली फिल्ममा मुख्य अभिनेत्रीको रूपमा डेब्यु गरेकी थिइन् । उनको निर्माण र अभिनय रहेको फिल्म ‘आँखा’ गत वर्ष असोजमा प्रदर्शनमा आएको थियो । यससँगै, उनी अभिनीत ‘म राजेश हमाल’ पनि प्रदर्शनको तयारीमा छ ।
गत वर्षको सुपरहिट फिल्म ‘घरज्वाइँ’ निर्माण गरेको टोलीले बनाउने फिल्म ‘मितज्यू’ को छायांकन आगामी मंसिरबाट सुरु हुनेछ । गत वर्ष असार अन्तिममा प्रदर्शनमा आएको ‘घरज्वाइँ’ ले ५१औं दिन मनाएको थियो। हाल कथा लेखनको चरणमा रहेको ‘मितज्यू’ को मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई र तेरिया फौजा मगर अनुबन्धित भइसकेका छन् । अब स्मिता लामिछानेको प्रवेशले सिनेमालाई थप चर्चामा ल्याएको छ ।
जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने यो फिल्मको प्रदर्शन मिति आगामी चैत २७ गते, नेपाली नयाँ वर्षको अवसरमा तय गरिएको छ । महेश राईले लेखेको यो फिल्मको प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन् ।










