‘जार’ मा दुई करोडको बाघ

फिल्म । आउँदो वैशाख २६ मा प्रदर्शन हुने फिल्म ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर तयार भएको फिल्म हो । यस कथाको पात्रसँगै बाघको पनि उत्तिकै महत्वपूर्ण भूमिका छ । फिल्मको एक दृश्यमा यसका मुख्य कलाकार सौगात मल्ल बाघसँग आमानेसामने हुन्छन् । स्क्रिप्टमा उनले बाघको सामना गर्ने सिन छ । कथामा यसका मुख्य पात्रलाई बाघले लतारेर लगेको दृश्य छ । यो दृश्य नराखे फिल्म नै अधुरो हुने थियो । नराखे ‘जार’ कथा पढ्ने व्यक्तिले अधुरो महसुस गर्ने निश्चित थियो ।

उक्त कथामा फिल्म निर्देशन गर्ने सोच आएपछि निर्देशक फुर्वा छिरिङ लामाले निकै सोचेको एक दृश्य त्यो पनि हो । उनले कथाको राइट्स लिएर फिल्म बनाउने तय हुनु अगाडि कथाकारका तर्फबाट उक्त दृश्यका बारेमा सोधिएको थियो । सोही कारण निर्देशक लामाले पनि यसलाई निकै महत्वपूर्ण रुपमा लिए । उनले यसलाई प्राविधिक सहायता लिएर भीएफएक्समार्फत पुरा गरेका छन् ।

‘सुरुमा त मलाई यो सम्भव छ र भन्ने लाग्यो किन भने कुनै पनि स्टुडियोलाई दिने हो भने यसका लागि कम्तीमा ८ देखि १० करोड रुपैयाँ लाग्ने थियो । तर, हामीले फ्रिलान्सर भीएफएक्स आर्टिस्टलाई काम गरायौँ । हाम्रो खर्च बढेपनि यो दृश्यके जीवन पाएको छ’, निर्देशक लामाले भने ।

फ्रिलान्सर भीएफएक्स आर्टिस्ट प्रयोग गर्दा पनि दुई करोड रुपैयाँ खर्च भएको निर्देशक लामाले बताए । लामो समय लिएर ३७ जना फ्रिलान्सर भीएफएक्स आर्टिस्टले बाघको दृश्यका लागि काम गरेको उनले जानकारी दिए । आठ मिनेटको उक्त दृश्यका लागि हलिउड फिल्म ‘गेम अफ थ्रोन्स’, ‘मिसन इम्पोसिबल’लगायमा काम गर्ने भीएफएक्स आर्टिस्टले काम गरेको उनले बताए ।

फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक लामाको दाबी छ । यसमा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा गरिएको छ । यसको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ । यसमा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।

कमेन्ट गर्नुहोस्