फिल्म । नेपाली फिल्मका लागि वर्ष २०८१ समग्रमा सुखद देखिएको छ । यो वर्ष प्रदर्शन भएको फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस)मा यस चलचित्रले रु ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्यांक छ । जसले विसं २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गर्यो ।
यद्यपि समग्रमा नेपाली बजार बढ्न नसकेको वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठले बताएका छन् । उनले एउटा फिल्मको व्यापार धेरै भएपनि अन्य फिल्मले अपेक्षित व्यापार गर्न नसक्दा समग्र बजारको आकारमा वृद्धि नभएको बताए ।
‘दसैँ र तिहारमा भएको फिल्मको व्यापारले समग्र क्षेत्रलाई चलायमान बनाउन सफल भयो । तर, समग्र वर्षको तथ्यांक हेर्ने हो भने समग्र बजारको आकार भने बढेको छैन । किनकि दर्शक पुनः हल फर्किएका छैनन्’, उनले भने ।
उनले ‘पूर्णबहादुरको सारंगी’ ले गरेको व्यापार ऐतिहासिक भएपनि अन्य चलचित्रले उलेख्य व्यापार गर्न नसक्दा समग्रमा अघिल्ला वर्षकै तुलनामा बजारमा हुने व्यापारको आकार सिमित भएको बताए । उनले हलसम्म नयाँ दर्शकलाई ल्याउन ‘लूट’ जस्तो एक फिल्म चाहिएको बताए । ‘हामीलाई लूट जस्तो एउटा फिल्म चाहिएको छ, जसले नयाँ दर्शकलाई हलमा ल्याउनुका साथै फिल्म बन्ने शैलीमा समेत परिवर्तन ल्याएको थियो । त्यो अगाडि हाम्रो बजारको आकार बढ्ने सम्भावना कम छ’, वितरक श्रेष्ठले भने ।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार यो वर्ष ६० फिल्म प्रदर्शन भइसकेको छ भने दुई फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ चैत २९ मा प्रदर्शन हुँदैछ । स्वदेशी फिल्म ६२ प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन हुने बोर्डले जनाएको छ ।











