दर्शकले रुचाए ‘अञ्जिला’, हेर्नेले रुदै गरे तारिफ

फिल्म । नेपाली महिला फुटवल राष्ट्रिय टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ लाई दर्शकले रुचाएका छन् । होलीलाई लक्षित गर्दै गत फागुन २९ देखि प्रदर्शन भएको फिल्मले नेपालभर दर्शकको साथ पाएको छ । फिल्म हेर्ने दर्शकले कप्तान सुब्बाको जीवनी देखेर भावुक भएको प्रतिक्रिया दिईरहेका छन् ।

कप्तान सुब्बाको जीवनको सङ्घर्ष र सफलता कथा देखाईएको फिल्म हेरेर कलाकार सन्दीप क्षेत्रीले समेत आफ्नो आसुँ रोक्न सकेनन् । देशभर दर्शकबाट उस्तै प्रतिक्रिया पाइएको निर्देशक मिलन चाम्सले बताए ।

उनले भने,’फिल्मले दर्शकको साथ पाएको छ, यो हाम्रो लागि सुखद खबर हो । यसको व्यापार भन्दा पनि धेरै दर्शकसम्म पुगोस् भन्ने हाम्रो उदेश्य हो । कप्तान सुब्बाले इलामदेखि काठमाडौँसम्म आउन गरेको सङ्घर्षले धेरैलाई प्रेरणा दिन्छ । यो फिल्म हेर्नेले आफ्नो सङ्घर्षलाई पर्दामा पाएकै कारण दर्शक रुनुभएको हो ।’

राम्रो ‘वर्ड अफ माउथ’ पाएको फिल्म ‘अञ्जिला’ ले जीवनमा अगाडि बढ्न प्रेरणा दिने निर्माता प्रेमकुमार श्रेष्ठले बताएका छन् । कप्तान सुब्बालाई इलामदेखि काठमाडौँ ल्याएर खेलाडी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ भन्ने अभियान समेत अगाडि बढाएका छन् ।

उनले फिल्मबाट संकलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाको घर बनाउन प्रयोग हुने बताए । फिल्मका कलाकार समेत रहेका अभिनेता दयाहाङ राईले आफूले वर्षौपछि सम्झिने फिल्म ‘अञ्जिला’ बनेको बताए ।

फिल्ममा सुनिल थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायांकन, मिलन श्रेष्ठले सम्पादन गरेको यो फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्