फिल्म । आगामी फागुन २९ गते रिलिज हुने नेपाली फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक भएसँगै निर्देशक मिलन चाम्स मोफसल प्रचारमा निस्किएका छन् । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दासम्मको कथा रहेको फिल्मको चितवन र पोखरामा प्रचार प्रसार गरिने निर्देशक चाम्सले जानकारी दिए ।
उनले भने,‘मोफसलमा फिल्मको विषयमा जानकारी गराउन चितवन आइपुगेको छु । यसपछि पोखरा पुगेर दर्शक र पत्रकारसँग भेटघाट गर्दै फिल्मको बारेमा जानकारी गराउने छु । यो फिल्म खेलाडीको विषयमा बनेको छ, यसको सफलताल अन्य खेलाडीको कथालाई फिल्ममा ल्याउन टेवा पुर्याउछ ।’
ट्रेलरले शत प्रतिशत सकारात्मक प्रतिक्रिया पाएको छ । युट्युबमा अधिकाँसले ट्रेलर गरेर आसुँ झरेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन् । दर्शकबाट प्राप्त प्रतिक्रियाले आफूसहित निर्माण समूहलाई थप उर्जा प्राप्त भएको निर्माता प्रेमकुमार श्रेष्ठले बताए । उनले ‘अञ्जिला’ को सफलताले अन्य खेलाडीको कथालाई चलचित्रमा ल्याउन ऊर्जा थप्ने बताए ।
मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्ममा क्याप्टेन सुब्बासँगै दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । अञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँको दृश्य समावेश गरिएको फिल्मको छायाङ्कन सुदीप बराल, सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।
मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।










