फिल्म । छोरीको कथामा तयार गरिएको फिल्म ‘सतीदेवी’ प्रिमियरमा रुचाइएको छ । आज काठमाडौँस्थित कमलपोखरीमा रहेको एक हलमा गरिएको प्रिमियरमा उपस्थित कलाकार, फिल्मकर्मीले फिल्मको प्रस्तुतीकरण, विषयवस्तु र कलाकारको अभिनयको प्रसंशा गरेका छन् ।
फिल्म हेर्न उपस्थित भएका सिएनएन हिरो अनुराधा कोइराला, निर्देशक ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, नवल नेपाल, कलाकार गौरी मल्ल, सलोन बस्नेत, सलिनमान बनिया, निर्माता प्रदीपकुमार उदय लगायतले फिल्मको प्रसंशा गरे ।
प्रिमियरमा प्राप्त प्रतिक्रियाले आफू उत्साहित रहेको निर्देशक लक्ष्मण सुवेदीले बताए । उनी दर्शक प्रतिक्रियाको प्रतीक्षामा छन् । यसमा सतीदेवी पात्रमार्फत छोरीको भोगाइ र परिवारसँगको अपेक्षा देखाइएको अभिनेत्री मलिका महतले बताइन ।
फिल्ममा अभिनेत्री महतसँगै सृजना अधिकारी, सुजिता शिवाकोटी, हर्षिका वली, मञ्जिला बानियाँ, समृद्धि सेन्चुरी, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, मनिषा सापकोटालगायतको अभिनय रहेको छ । फिल्म भदौ ७ गतेदेखि सार्वजनिक रुपमा प्रदर्शन हुँदैछ ।










