फिल्म । निर्देशक तथा लेखक दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको ३ मिनेट लामो सार्वजनिक ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेश आन्दोलनलाई केन्द्रमा राखेर कथा भनिएको छ ।
मधेशमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद र स्कूलकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनलाई ट्रेलरमा देखाइएको छ । आन्दोलनका बीच प्रहरीले दुई बालकलाई खोज्न अपनाएको रणनीति र आइपर्ने समस्यालाई ट्रेलरले देखाउँछ । प्रहरी इन्सपेक्टरको भूमिकामा रहेकी अभिनेत्री आशा मगराती र अभिनेता दयाहाङ राईबीचको टसन पनि ट्रेलरमा हेर्न पाइन्छ ।
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक रौनियारले ‘राजागंज’ आफ्नो करिअरकै ठुलो फिल्म रहेको बताए । उनले भने,‘मैले यसअघि यति ठूलो फिल्म निर्माण गरेको थिइनँ । कलाकारसहित एक हजार बढि मानिस संलग्न थिएँ ।’
फिल्मलाई सन् २०१५ को परिवेशमा निर्माण गरिएको पनि निर्देशक रौनियारले जानकारी दिए । अन्तर्राष्ट्रिय महोत्सवहरुमा फिल्म प्रशंसा पाएकाले नेपाली दर्शकलाई पनि मनपर्ने विश्वास उनको छ ।
आगामी चैत १ गतेबाट प्रदर्शन आउने फिल्ममा आशा र दयाहाङसहित विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ ।
फिल्मले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला फिल्म महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ । यो फिल्मको गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । फिल्मले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।
फिल्मको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् । यो फिल्मलाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका छन् ।











