‘लाज शरणम्’ मा दर्शक बढ्नेमा निर्माण समूह आशावादी

फिल्म । गत शिवरात्रिदेखि प्रदर्शनरत फिल्म ‘लाज शरणम्’मा दर्शकको चासो देखिएको छ । विदासँगै अन्य ‘विक डे’मा पनि दर्शक फिल्म हेर्न हलमा देखिएको निर्माण पक्षले दावी गरेको छ । निर्माण पक्षका अनुसार आइतबार काठमाडौँ उपत्यकामा रहेका विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरेका थिए ।

‘लाज शरणम्’ हेर्न आइपुगेका दर्शकको साथले व्यापार पुनः बढ्दै जानेमा निर्माण टिम विश्वस्त रहेको प्रेस नोटमा जनाएको छ । फिल्ममा कर्णालीको एक पात्रको जीवनलाई बाचेका अभिनेता महेश त्रिपाठीको कामलाई दर्शकसँगै फिल्मकर्मीले विशेष रुचाएका छन् । काठमाडौँ मात्र नभई मोफसलमा समेत फिल्मका टिम पुगेर दर्शक भेटघाट गरिरहेका छन् ।

लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’मा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् । फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्