फिल्म । आगामी फागुन २९ गते रिलिज हुने नेपाली फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक ट्रेलरलाई दर्शकले रुचाएका छन् । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा रहेको ट्रेलर अहिले नेपालको युट्युब ट्रेन्डिङ मुभी सेक्सनको दोस्रो स्थानमा पर्न सफल भएको छ ।
ट्रेलरले ६ लाख ५० हजार भ्यूज (न्युज तयार पार्दासम्म) पाएको छ भने शत प्रतिशत सकारात्मक प्रतिक्रिया पाएको छ । युट्युबमा अधिकाँसले ट्रेलर गरेर आसुँ झरेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन् । दर्शकबाट प्राप्त प्रतिक्रियाले आफूसहित निर्माण समूहलाई थप उर्जा प्राप्त भएको निर्माता प्रेमकुमार श्रेष्ठले बताए ।
‘हामीले क्याप्टेन सुब्बाको सफलताअगाडिको सङ्घर्षलाई चित्रण गरेका छौँ । बाल्यकालमै उनले गरेको सङ्घर्ष र आटले आज उनलाई नेपालको क्याप्टेन बनाएको हो । उनको फिल्म हेर्नेले सङ्घर्षले सफल बनाउँछ भन्ने देख्नेछन्, त्यसैले यो फिल्म हिम्मत नहार्नेका लागि हो’, निर्माता श्रेष्ठले भने ।
उनले ‘अञ्जिला’ को सफलताले अन्य खेलाडीको कथालाई चलचित्रमा ल्याउन ऊर्जा थप्ने बताए । अभिनेता दयाहाङ राईले महिला खेलाडीको विषयमा फिल्म बन्नु र त्यसमा जोडिन पाउनु आफ्ना लागि सौभाग्य रहेको बताए । ‘कप्तानको फिल्म बन्दैछ भनेपछि भूमिका के हो समेत थाहा नपाई काम गर्न सहमत भएँ । यसको लागि म जिन्दगीभर ऋणी हुनेछु’, अभिनेता राईले भने ।
मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्ममा क्याप्टेन सुब्बासँगै सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । अञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँको दृश्य समावेश गरिएको फिल्मको छायाङ्कन सुदीप बराल, सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।











