‘फिल्मले मनोरञ्जनसँगै दिमागमा केही ट्रिग गर्छ’ : निश्चल

फिल्म । आउँदो शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘बेहुली फ्रम मेघौली’को बुकिङ खुल्ला भईसकेको छ । सामाजिक विषयवस्तुलाई फिल्मीशैलीमा प्रस्तुत गरिएको कारण यो फिल्म प्रतिक्षित छ । उमेर बढ्दै जाँदा छोरीको विवाह गर्न हुने सकस, समाज र परिवारले दिने दवाव र विवाह गर्ने युवतीले भोग्नु पर्ने तनाब सिनेमाले रमाइलो तरिकाले प्रस्तुत गरेको छ । इनोसेन्ट युवतीलाई ठग्न खोज्ने युवक, मन परेको व्यक्तिले गर्ने फ्रड, विवाहका लागि चिना मिल्नै पर्ने परम्परागत शोच, चिना नमिलेपछि गर्न खोजिएको चलाखी ट्रेलरमा देखाईएको छ ।

यस फिल्ममा स्वस्तिमा खड्का र निश्चल बस्नेत छन् । यसको निर्माण पनि स्वस्तिमा र निश्चलले नै गरेका हुन् । ‘लुट’बाट फरक किसिमको विषय उठान गरेका निश्चल केही समय यता कलाकारिता पनि उत्तिकै सक्रिय छन् । फिल्म निर्देशक बाहेक अभिनय र निर्माणमा व्यस्त रहेका निश्चलले आफ्ना अघिल्ला फिल्म झैँ यसपटक पनि हलबाट निस्किदा दर्शकले दिमागमा केही लिएर फर्किनेमा जोड दिए ।

‘हलमा गएपछि फर्किंदा दर्शकले केही लिएर फर्किउन् भन्ने चाहन्छु । यहि तथ्यलाई आधार मानेर यसपटक पनि फिल्म तयार गरेका छौँ । मनोरञ्जनसँगै दिमागमा केही ट्रिग गर्नुपर्ने मेरो मान्यता हो । त्यसैले यसमा मनोरञ्जनसँगै बलियो सामाजिक म्यासेज दिने कोसिश गरेका छौँ’, निश्चलले भने ।

युवतीको उमेर बढेपछि विवाह गर्न मुस्किल हुन्छ भने परम्परागत नेपाली समाजको मान्यतालाई यसले व्यंग्य गरेको उनको भनाइ छ । फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय फिल्म हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् ।

कमेन्ट गर्नुहोस्