फिल्म । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकसेन र विलक्षण क्रियसन प्रा.लि.को आयोजनामा काठमाडौँमा भइरहेको ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव-२०२५’ नेपालसहित १७ देशका ४९ वटा फिल्म सहभागी छन् । काठमाडौँको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा यो महोत्सव आईतबारसम्म जारी रहनेछ ।
महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रले अफ्रिकासँग नेपाललाई चलचित्रबाट जोड्न १४ वर्ष अघिबाट नेपाल अफ्रिका चलचित्र महोत्सव नेपालमा नियमित रुपमा आयोजना गर्दै आएको बताईन् । यो वर्षबाट अफ्रिकाको सँगै अन्य देशका अन्तराष्ट्रिय चलचित्र समेत महोत्सवमा समावेश गरिएको उनले जानकारी गराईन् ।
महोत्सव निर्देशक डब्बु क्षत्रीले अन्तर्राष्ट्रियस्तरका चलचित्र महोत्सव गर्न निकै यहाँ कठिन हुने गरे पनि चलचित्र विकास बोर्डको केही सहयोगले महोत्सव गर्न थोरै सहज भएको बताए । यसपटक महोत्सवमा भारत, बंगलादेशलगायतका मुलुकका चलचित्रकर्मी सहभागी भएको पनि उनले जानकारी गराए ।
महोत्सवको अन्तर्राष्ट्रियतर्फ १६ देशका १९ चलचित्र छन् । अन्तर्राष्ट्रिय विधाको निर्णायकमा दक्षिण अफ्रिकाबाट चलचित्र निर्देशक क्याथेरिन सोफियानोस, भारतबाट चलचित्र निर्देशक अंकित बाघ्छी, बँगलादेशबाट चलचित्र निर्देशक साहदत रुसेल र नेपालबाट चलचित्र निर्माता निर्देशक एवम् अभिनेत्री रोशनी केसी छन् ।
यस्तै नेपालकै २३ वटा लघु चलचित्र, भाषाभाषी चलचित्र, बृत्तचित्र र विधार्थी चलचित्र यो महोत्सवमा सहभागी छन् । लघु चलचित्र, सांगीतिक लघु चलचित्र एवम् बृत्तचित्रको निर्णायकमा अभिनेता सागर लम्साल क्षत्री, दृष्य सम्पादक रविन विक, गायक रुद्रशेखर शर्मा र गायिका सुजाता केसी छन् । निर्णायकहरुले चलचित्र चयन देखि पुरस्कृत चलचित्र एवम् कलाकार प्राविधिकको चयन गर्नेछन् ।
महोत्सवमा यस पटक अन्तराष्ट्रिय तर्फ अफ्रिका समूहको चलचित्रमा दक्षिण अफ्रिकाबाट स्फमण्डला आरोन म्भेला निर्देशित चलचित्र गुड मोदर र सिभिलाईज्ड उवोम्बो निर्देशित चलचित्र लेफ्ट अर राईट अर इन बिट्विन द लाईफ, क्यामरुनबाट टाटा फिडेलिस निर्देशित जेस्पर पनि रहेका छन् ।
अन्तर्राष्ट्रिय समूह तर्फ संयुक्त राज्य अमेरिकाबाट डिलन लाथम निर्देशित चलचित्र विल, फ्रान्सबाट पार्टिस गुईल्लाईन निर्देशित चलचित्र ला डिर डेस डेर, डेनमार्कबाट निर्देशक लार्स बी फ्रहमको चलचित्र रन फर लाइफ, श्रीलंकाबाट वेलुपिल्लै राजेश निर्देशित चलचित्र सगावरम, बंगलादेशबाट फकिर विप्लव निर्देशित चलचित्र सौदा, भारतबाट देवेन्द्र जादव निर्देशित बृत्तचित्र लोनी ट्युन्स रहेको छ ।
यस्तै पाकिस्तानबाट अहसेन मुराद र फरहाद रियाज निर्देशित चलचित्र अंगार, अफगानिस्तानबाट काजिम अजराम निर्देशित चलचित्र द मस्ट ब्युटिफुल काबुल, स्पेनबाट एलिस भिल्लालोंगा निर्देशित स्टेल, ओमनबाट सुलेमान अलखालिली निर्देशित चलचित्र सुलेमान पनि यो महोत्सवमा अन्तर्राष्ट्रिय समूहमा चयन भएको छ । अन्तर्राष्ट्रिय समूहतर्फ अस्ट्रियाबाट अर्मन विभेस निर्देशित चलचित्र जस्ट अ जिगेलो, क्यानडाबाट मञ्जु सुब्बरवाल निर्देशित चलचित्र कलर, बेलायतबाट एड्रिएना कुलिज निर्देशित चलचित्र लकडाउन गार्डेन डायरी, बेलायतबाटै ओडेट्टे निर्देशित चलचित्र जेन्ट पपेट्स फर डिग्निफाईड मिन्सुरेसन, अर्जेन्टिनाबाट जर्ज क्याराबोटा निर्देशित चलचित्र द टेम्पल फर इन्टरनल साउन्ड रहेको छ ।
महोत्सवमा शनिबार चलचित्र इफेक्ट मेकअपको एक दिवसीय कार्यशाला आयोजना गरिँदैछ । माधव प्रसाद पाण्डे (सरोज)ले ग्लार मेकअप, जलेको मुहार मेकअप, बुढयौली मेकअप, मोटो मुहारलाई दुब्लो बनाउने मेकअप सिकाउँदैछन् । विना रानामगरले हरर फेस मेकअप, सुजन तिमिल्सिनाले मुहार पेन्टिङ (माक्स मेकअप) र महोत्सव सह निर्देशक सरिता भारतीले विभिन्न अबस्थाको घाउ चोटको मेकअप सिकाउँदैछन् । जसमा दुई दर्जन भन्दा बढी मेकअप आर्टिष्ट सहभागी छन् । महोत्सवमा शनिबार पनि दिनभरी करिब डेढ दर्जन नेपाली तथा विदेशी चलचित्र प्रदर्शन गरिँदैछ ।












