‘गीत रि-क्रिएट गरेका हौँ, नयाँ बनाएका होइनौं’ : विनय

फिल्म । सामान्य लिरिकल भर्सनमा तयार गरिएको गीत ‘जालामा’ अर्थात् ‘पारि त्यो डाँडामा हेर…’ निकै लोकप्रिय भयो । नयाँ निर्माण समूह र नयाँ युट्युब च्यानलमा हालिएको गीत यस्तो लोकप्रिय भयो की त्यसको प्रभाव फिल्मको बक्सअफिसमा देखियो । फिल्मले पहिलो दिन गरेको व्यापार झन्डै करोड हाराहारीमा थियो ।

भूकम्पले गर्दा फिल्मले पाएको चर्चासमेत गीतले कमाउन पाएन । लगानी मात्रै उठायो । अब भने फेरि दर्शकले यो गीतको स्वाद नयाँ भर्सनमा सुन्न पाउने भएका छन् । ‘रेशम फिलिली’को सिक्वेल ‘फेरि रेशम फिलिली’ बनाउँदै निर्माण टोलीले ‘फेरि जालमा’ पनि सार्वजनिक गरेको छ ।

अभिनेता विनय श्रेष्ठले गीतलाई ‘रि-क्रिएट’ गरेको बताए । उनले भने,‘यो गीतमा हामीले पुरानै समूहलाई राखेर पूर्ण निर्माण गरेका हौँ । यसमा केही परिमार्जन गरिएको होइन, त्यसैले यो गीतले पुरानै याद र भाव दिन्छ । हामीले यसलाई सक्दो मेहनत गरेर निर्माण गर्ने तयारी गरेका छौँ ।’

फिल्मको यो गीतमा लय उही छ, शब्दहरु फरक छन् । कालीप्रसाद बास्कोटाको संगीतमा तयार भएको गीतको शब्द मानसराजले लेखेका हुन् । गीतमा काली र सोमिया बराइलीको स्वर छ । गीतको भिडियोमा फिल्मको प्रमुख अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्ट छन् । भिडियोको कोरियोग्राफी प्रदीप लामाले गरेका हुन् भने गीतलाई शिवराम श्रेष्ठले खिचेका हुन् ।

निरज महर्जनको निर्देशनमा बनेको यो फिल्ममा विनय र सुपुष्पसँगै कलाकारहरु कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायतको अभिनय छ । यो सिनेमामा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधानबाहेक अन्य सबै पुरानै छन् ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको यो फिल्मका निर्माता रौनक विक्रम कँडेल हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनी थापा छन् ।

कमेन्ट गर्नुहोस्