‘लेबरसंगे लबरइ नइ सरकार’ :निर्देशक झा

फिल्म । एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर घोषणा गरिएको फिल्म ‘लेबर’ लाई पुर्णेन्दु के झाले निर्देशन गर्दैछन् । नेपाली भाषामा ‘संरक्षण’ र ‘चौका दाउँ’ निर्देशन गरे पश्चात उनले मैथिली भाषामा फिल्म निर्देशन गर्दैछन् । उनले शुद्ध मैथिली भन्दा पनि तराईका प्राय स्थानमा प्रयोग गरिने र सबैले बुझ्ने भाषाको प्रयोग गरेका छन् ।

संवत यो मैथिली भाषामा बन्ने बलियो फिल्म बन्ने छ । स-साना बजेट र रहरिया फिल्मकर्मीले निर्माण गरिरहेको मैथली फिल्मले गर्दा बजार बढ्न सकेको छैन । तराईमा भोजपुरी र हिन्दी भाषामा तयार भएका फिल्मको प्रभुत्व बढ्दै गर्दा निर्देशक झा यसपटक नेपालभर प्रदर्शन हुने फिल्म तयार गर्दैछन् । उनले मैथिली भाषामा निर्माण गरेर नेपाली र भोजपुरीमा डबिङ गर्दैछन् । संवत यो प्रयास कुनै फिल्मकर्मीले पहिलोपटक गर्दैछ ।

उनले फिल्ममा लेबरसँग लबरइ नगर्न सरकार र नेतालाई सचेत बनाएका छन् । सार्वजनिक टिजरमा नेपालमा बस्दै गर्दा पिटाई खाइरहेको दृश्य बेजोड छ । विदेशिन बाध्य नेपालीसँगै राजनीतिज्ञ र सरकारले केही नेपालीलाई विदेश पुग्न बाध्य बनाएका एक आम नागरिकको कथा फिल्ममा छ ।

‘सिस्टम, राजनीतिज्ञ र सरकारको कारण पिडित भएको एक आम नागरिकको कथालाई फिल्ममा ल्याउदै छु । हामी कहाँ तराईमा फिल्मको ठूलो बजार छ, तर त्यहाँ नेपाली र मैथिली नभई भोजपुरी र हिन्दी भाषाको फिल्मको वर्चस्व छ । सोही कारण यो सम्पूर्ण नेपालमा हुने फिल्म तयार गर्दैछु’, निर्देशक झाले भने ।

उनले यसको छायांकन जनकपुर, काठमाडौँ र कतारमा गर्ने योजना बनाएका छन् । पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्राइभेट लिमिटेडको संयुक्त व्यानरमा निर्माण हुने फिल्ममा सतेन्द्र झा, संजय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धिरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह–निर्माता रहेका छन् ।

निर्देशक झासँगै नरेश मिश्राले लेखन रहेको फिल्ममा उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायतका कलाकार अहिले तय भएको र अन्य कलाकार छिटै घोषणा गरिने बताईएको छ ।

कार्यक्रममा पूर्व राजदुत सूर्यनाथ मिश्र, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, कलाकार रवीन्द्र झा, नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक गणेशदेव पाण्डे, लेखक समीप्याराज तिमल्सेना, वितरक करण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

फिल्ममा प्रवेश मल्लिकको सङ्गीत तथा पाश्र्वसङ्गीत, हिमाल केसीको द्वन्द्व निर्देशन, आलोक शुक्लको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन, मल्लाज अडियो वर्कसको साउण्ड डिजाइन तथा मिक्सिङ, अक्की थेक्पाको कला निर्देशन रहेको छ ।

फिल्मको डिजिटल पार्टनरको रुपमा नेपाली भाषाको लागि ओएसआर डिजिटल र भोजपुरी तथा मैथली भाषाको लागि अरिपन फिल्म्स प्राइभेट लिमिटेड रहेको छ । प्रबिण कुमार रावत प्रथम सहायक निर्देशक रहेको फिल्म ‘लेबर’ लाई यसै वर्ष सन् २०२४ को अन्तिम महिना डिसेम्बरमा प्रदर्शन गर्ने निर्माण पक्षले जनाएको छ ।

नेपाली टिजर

मैथिली टिजर

भोजपुरी टिजर

कमेन्ट गर्नुहोस्