फिल्म । निर्देशक शङ्कर घिमिरेले आफ्नो सन्तान भेट्न प्रवास पुग्ने अभिभावकको भोगाईमा फिल्म ‘तेल भिसा’ तयार गरेकाछन् । मङ्सिर ७ लाई प्रदर्शन तय गरिएको फिल्मलाई आफूले प्रवासी जीवनमा देखेको एउटा कथालाई दर्शकसम्म ल्याएको उनले बताए ।
‘फिल्मकै शिलशिलामा एक दशक आगाडि म परिवारसहित अमेरिका पुगें । त्यहाँ देखिएको एउटा वेदना र यथार्थलाई पर्दामा ल्याएका छौँ । यसले परिवारको सामीप्यता बढाउन मदत गर्छ’, उनले भने ।
‘तेल भिसा’ मा छोराको सन्तान हुने भएपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा देखाईएको छ । यसमा अभिनेता विपिन कार्कीले दोहोरो भूमिका निर्वाह गरेका छन् । बुवा र छोराको जीवनलाई पर्दामा जीवन्त बनाएका अभिनेता कार्कीले नयाँ अनुभव सङगालेको बताए ।
‘छोराको भूमिकाको छायाङ्कन अमेरिकामा सकेर नेपाल फर्किएपछि बुवाको भूमिका गरें । त्यो बीचको समयमा मैले बुबाको भूमिकालाई तयार गर्ने समय पाएँ, मेरो शारीरिक परिवर्तन पनि भयो । बुवाको भूमिकामा मेरो आफ्नै बुवा आर्मीको स्वभाव मिसिएको छ । मैले उहाँलाई देखेको, बुझेको सम्पूर्ण कुरा यसमा आएका छन् । किनकि मैले नजिकबाट चिनेको आर्मी नै मेरो बुबा हो’, अभिनेता कार्कीले भने ।
उहाँले यो चलचित्रमा जोडिनुको कारण नै विषयवस्तु रहेको बताए । यसमा अभिनेता कार्कीसँगै पूजा चन्द, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरुले अभिनय गरेका छन् ।













