फिल्म । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘१२ गाउँ’को टिजर सार्वजनिक गरिएको छ । दसैँको फूलपाति अर्थात् असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको सार्वजनिक टिजरमा द्वन्द्वका दृश्यमा नवीनतम प्रयोग देख्न सकिन्छ । एक्सनस्टारको पहिचान बनाएको अभिनेता विराज भट्टको निर्देशनमा तयार भएको फिल्मको १ मिनेट २१ सेकेन्ड लामो टिजरमा द्वन्द्वलाई प्राथमिकता दिईएको छ ।
यसै फिल्ममार्फत उनका छोरा समीर भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । बदलाको कथा उठाएको झल्को दिने फिल्मका लागि डेब्यु अभिनेता भट्टले भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका थिए । नेपाली फिल्ममा उच्च स्तरीय एक्सन ‘१२ गाउँ’ दर्शकले हेर्न पाउने दाबी निर्देशक भट्टले गरिरहेका छन् ।
यसबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । यस फिल्ममा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भा लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । यसमा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।
एक्सन-थ्रिलर कथामा बन्न लागेको फिल्मका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नडा फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको फिल्म काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ ।












