फिल्म । आउँदो साउन ३२ गतेबाट पुनः प्रदशन गरिने फिल्म ‘बुलाकी’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । आज यहाँ नयाँ वानेश्वरस्थित एक हलमा ‘बुलाकी’ ट्रेलर र गीत सार्वजनिक गर्दै निर्माता तथा कलाकार विराज विष्टले पुनः सम्पादन गरेर फिल्म प्रदर्शन गर्न लगिएको बताए । उनले भने,‘पहिलोपटक गरिएको रिलिजमा हामीले विविध कारणले निरन्तरता दिन सकेनौँ । विभिन्न अवार्डमा पाएको प्रतिक्रिया र दर्शकको मागको कारण पुनः प्रदर्शन गर्दैछौँ ।’
ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित नेपाली काङ्ग्रेसका उपसभापति खड्काले कर्णालीको सौन्दर्यतालाई हेर्न पाएको प्रतिक्रिया दिए । उनले भने,‘कर्णालीमा मूल गहना मानिने बुलाकीलाई आधार मानेर तयार गरिएको फिल्मले स्थानीय सभ्यता र संस्कृतिलाई उजागर गरेको छ । कर्णालीमा फिल्म बन्ने विविध विषय छन्, विस्तारै फिल्मकर्मीको आँखा पर्दैछ ।’
आयोजित कार्यक्रममा शिर्ष भूमिकामा देखिनुभएकी अभिनेत्री सुरक्षा पन्तले आफ्नो लागि कर्णालीको पात्र पहिलो अनुभव रहेको बताइन । फिल्ममा अभिनेत्री पन्तसँगै नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइलगायत कलाकारले अभिनय गरेका छन् । यसलाई प्रदर्शनका लागि रीच इन्टरटेनमेन्टका वितरक करण श्रेष्ठले वितरण गर्दै छन् ।











