फिल्म सम्बद्ध संघ संस्थालाई ‘बुलाकी’को ज्ञापनपत्र

फिल्म । यहि साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बुलाकी’ निर्माण टिमले चलचित्र सम्बद्ध विभिन्न सङ्घसंस्थालाई ज्ञापनपत्र बुझाउँदै सहयोगको लागि आह्वान गरेको छ । नेपाली समाजको वास्तविक एवम् मौलिक कथा उठान गरेको फिल्मको प्रदर्शनमा सहजता खोज्दै ज्ञापनपत्र प्रदान गरिएको हो । निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माता तथा कलाकार विराज विष्टले चलचित्र विकास बोर्ड, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ लगायतका संस्थाको कार्यालयमा पुगेर सहयोगको अपिल गरेका हुन् ।

‘देशको आफ्नै समाजको मौलिक कथा उठान गरेको ‘बुलाकी’लाई नेपाल र विश्वभरी छरिएका नेपाली दर्शकहरू नजिक पुर्याउनुपर्छ र पुग्नुपर्छ, हरेक नेपालीले हेर्नुपर्छ भन्ने हाम्रो बुझाइ छ । साउन ३२ गते रिलिज हुने यो चलचित्रलाई धेरै भन्दा धेरै दर्शकमाझ पुग्ने वातावरण बनाउन यहाँहरुको साथ, सहयोग र सद्भावको खाँचो महसुस गरेको छु’, ज्ञापन पत्रमा उल्लेख छ ।

निर्माता विष्टले देशको परिवेश र यथार्थता बोकेको फिल्म हेर्नको लागि नजिकको हलमा पुगेर आफ्नो टिमको प्रयासमा हातेमालो गर्न सम्पूर्ण नेपाली दर्शकलाई आह्वानसमेत गरेका छन् ।

पश्चिम नेपालमा विद्धमान जारी प्रथाको यथार्थ कथा उठान गरेको फिल्मले यो बीचमा देश तथा विदेशमा सम्पन्न विभिन्न ख्यातीप्राप्त अवार्ड तथा महोत्सवहरूमा उत्कृष्ट चुनिँदै आफ्नो अब्बलता प्रस्तुत गरिसकेको छ । ‘बुलाकी’मा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री लगायत प्रमुख अभिनयमा छन् । लक्ष्मण सुनार फिल्मका निर्देशक हुन् ।

कमेन्ट गर्नुहोस्