‘नेपाली कलाकारले नगरेको रोल भारतीयले गरें’ : नीता

फिल्म । गत सोमबारदेखि नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन भइरहेको छ । अन्तिम चरणको छायांकनको सेड्युल चार दिन राखिएको छ । नीता ढुंगाना निर्मात्रीसँगै अभिनेत्री रहेको फिल्ममा नेपालसँगै भारतीय कलाकारहरूले अभिनय गरेका छन् । यसमा दक्षिण भारतीय फिल्ममा देखिने प्रदीप रावत, सुनील वर्मा, अली, ब्रम्मानन्दम लगायतका कलाकार छन् ।

नेपालमै कलाकार हुँदा हुँदै भारतीयलाई किन रोजियो त ? यस प्रश्नमा निर्मात्री ढुंगानाले संयोग भनेकी छिन् । उनले भनिन्,‘म र मेरो टिमले पहिला नेपाली कलाकारलाई नै आग्रह गरेका हौँ । प्रस्ताव गरिएका कलाकारले काम गर्न नमानेपछि भारतीय कलाकारलाई अभिनय गराउने सोच आएको हो । यसले हाम्रो बजार विस्तारमा समेत मदत गर्छ । हामी नयाँ बजार खोज्न प्रयाशरत छौँ ।’

उनले आफ्नो प्राथमिकतामा पहिला नेपाली कलाकार नै रहेको स्पष्ट पारिन् । उनले भारतीय फिल्म ‘गजनी’ भिलेन प्रदीप रावत र फिल्म ‘पुष्पा’को भिलेन सुनिल वर्माको पार्टको छायांकन अहिले चलिरहेको जानकारी दिइन् ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । चन्द्र पन्त निर्देशक रहेको फिल्ममा नीता, हरिहर, प्रदीप र सुनीलका अलवा ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिन्दीसहित तीन भाषामा यो फिल्म आगामी असोज ३ मा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्