परीक्षा भन्छिन्, ‘अडिसन पास गरेपछि भाषा सिकेर काम गरें’

फिल्म । अभिनेत्री परीक्षा लिम्बु ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिइन्। यी अभिनेत्री आगामी जेठ १० गतेबाट रिलिज हुने ‘पुजार सार्की’मा ‘गौमाया’ पात्रमार्फत पूर्ण भूमिकामा देखिँदैछिन्। यस फिल्ममा अभिनय गरेसँगै परीक्षा फिल्ममेकरको नजरमा परेकी छन् । ट्रेलर र गीतमा देखिएको उनको अभिनयबाट दर्शकमाझ पनि उनी परिचित भइसकेकी छन् । परीक्षाले यसमा अडिसनमार्फत अभिनय सुरक्षित गरेकी थिइन् । उनले अडिसनको लागि ६ वटा भिडियो पठाएकी थिइन् । ‘उहाँहरूले मंगोलियन लुक्सकी युवती खोजिरहनुभएको रहेछ। मलाई चिन्नु हुनेले फिल्मको अडिसन खुलेकोले प्रयास गर्न भन्नुभयो । त्यसपछि मैले सुरुमा एउटा भिडियो पठाएँ । म फिल्ममा अनुबन्धित हुनुअघिसम्म ६ वटा भिडियो पठाएँ’,उनले भनिन्।

अभिनयको भिडियो पठाइरहँदा उनलाई कास्की जिल्लाको कास्कीकोट क्षेत्रको स्थानीय लवज बोल्न समस्या भयो । लवजकै कारण परीक्षालाई यसमा काम गर्ने या नगर्ने भन्ने अन्योल सिर्जना भयो । यसको लागि टिमले उनलाई भाषा ‘प्राक्टिस’ गराय। यो फिल्मको लागि जरुरी हुने भाषा र चरित्रको सबै सम्भावना देखेपछि उनी ‘पुजार सार्की’मा फाइनल भइन् ।

उनी फिल्ममा ‘मैतबहादुर’को चरित्रमा देखिएका अभिनेता प्रदीप खड्काको जोडी ‘गौमाया मगर’को भूमिकामा देखिँदै छिन् । प्रदीपसँग उनको यो पहिलो सहकार्य हो । ‘मैले प्रदीपजीबाट धेरै कुरा सिकेँ । उहाँ कसरी काम गर्नुहुँदो रहेछ र कसरी क्यारेक्टरमा बस्नुहुँदो रहेछ भन्ने थाहा पाएँ । व्यक्तिगत रूपमा उहाँ सहयोगी हुनुहुँदो रहेछ’, परीक्षाले भनिन्।

यसमा प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह प्रमुख भूमिकामा छन् । परीक्षालाई तीन स्टारसँग सहकार्य गरिरहँदा के होला भन्ने चासो रहेछ । ‘उहाँहरू कसरी काम गर्नुहुन्छ अथवा मलाई कसरी ‘ट्रिट’ गर्नुहुन्छ होला भन्ने कौतुहलता र डर थियो । तर उहाँहरूलाई भेटिसकेपछि त्यो सबै हरायो । उहाँहरूसँग त केही सिक्न पाउँछु भन्ने अनुभव भयो’, उनले भनिन् ।

‘पुजार सार्की’ मा प्रदीपसँग परीक्षाको अन्तरजातीय प्रेम छ । फिल्ममा गरेको अभिनयबाट प्राप्त अनुभवमा अन्तरजातीय प्रेम निकै गाह्रो हुने महसुस परीक्षाले गरेकी छन् ।‘फिल्ममा म मगर समुदायको प्रतिनिधित्व गर्छु । हाम्रो समाजले अझै पनि जात भनेर हेरिरहेको छ । त्यो हेराइले उहाँहरूलाई मात्र नभएर उहाँहरूसँग जोडिएका सबै मान्छेहरूलाई गाह्रो हुन्छ । प्रेम गर्ने जोडीलाई त यो मामलामा झनै गाह्रो हुँदो रहेछ’,परीक्षा भन्छिन्,‘मेरो हकमा त्यो गाह्रो क्यारेक्टर भएर महसुस गर्न पाएँ । जुन रियल लाइफमा महसुस गर्न पाएको छैन । त्यो अनुभवका लागि म भाग्यशाली पनि छु ।’

परीक्षा पूर्वकी, भाषा पश्चिमको । परीक्षाले यही चरित्रका लागि अध्ययन समेत गर्नुपर्‍यो, जुन अध्ययन उनका लागि रमाइलो अनुभव बनेको छ । ‘आफूबाट अर्को मान्छे हुन पाउँदा इन्जोय गरेँ । किनभने ‘रियल’मा म जस्तो छु त्यो भन्दा फरक ‘रिल’मा छु । मलाई उताको भाषा र जीवनशैलीले अलि गाह्रो अनुभव भयो । म पूर्वको मान्छे, पश्चिममा कसरी भिज्ने होला भन्ने चुनौती थियो,’ परीक्षाले बताइन्।

राम्रो फिल्म बन्न कलाकार र निर्देशकको ट्युनिङ मिल्नुपर्छ। परीक्षाको बुझाई पनि त्यही हो । परीक्षाको अनुभवमा निर्देशकसँग कलाकार केही डराउनु नै पर्छ । ‘त्यो डर भनेको निर्देशकप्रतिको सम्मान हो । मैले गरेको काम ठिक वा बेठिक भनेर छुट्टाउने निर्देशकले नै हो । आफूले निभाएको चरित्रले न्याय दिन सक्यो सकेन वा निर्देशकको भिजन अनुसार चल्न सकियो या सकिएन भनेर केही डराउनु पनि पर्छ’, परीक्षा भन्छिन्,‘निर्देशक दिनेश दाइको हकमा मलाई त्यही नै भयो। दिनेश दाइले यसअघि राम्रा चलचित्र बनाउनुभएको छ। यो चलचित्रको कन्टेन्ट र क्यारेक्टर पनि राम्रो भएकाले चलचित्र राम्रो बनेको छ भन्नेमा म ढुक्क छु।’

परीक्षालाई ‘पुजार सार्की’बाट ठुलो आस छ । उनको बुझाइमा उनको उमेरका धेरै दर्शकले ‘पुजार सार्की’ हेर्नुपर्छ । ‘किनभने पछि गएर समाज र देशको भविष्य बनाउने हामीले नै हो। अहिलेका मानिसलाई जातीय विभेद गर्नु भनेर सम्झाउँदा अलिक समय लाग्छ, तर सानैदेखि नै जातीय विभेद गर्नुहुँदैन भनेर सिकाउन सकियो भने त्यो भविष्यका लागि फलदायी हुनसक्छ। चलचित्रले २०४६ मा हाम्रो समाज यस्तो थियो, अब यस्तो हुनुहुँदैन भन्ने सन्देश दिन्छ। कुनै बेलाको सती प्रथा हट्यो । त्यस कारण अब जातीय विभेद पनि हट्नुपर्छ भन्ने हाम्रो भनाई हो’, उनी भन्छिन्।

आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने फिल्म ‘पूजार सार्की’ मा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय पनि रहेको छ ।

विकास सुवेदीको लेखन रहेको फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पूजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ, उत्तम न्यौपानेले साउण्ड डिजाइन, शैलेश श्रेष्ठले ब्याकराउण्ड स्कोर गरिरहेका छन् ।

हिमाल केसीले द्वन्द्व निर्देशन रहेको ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक साजन बस्ताकोटी र सदिक्षा महत्रा हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहेको छ ।

कमेन्ट गर्नुहोस्