‘बम बहादुरमा दर्शकले आफ्नै कथा देख्नेछन्’ : सौगात

फिल्म । यही पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘बम बहादुर’को पूर्वी नेपालको इटहरीमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । आइतबार भएको उक्त समारोहमा चलचित्रका कलाकार, निर्देशक, निर्माता लगायतको उपस्थिति रहेको थियो । पूर्वी नेपालमा सक्रिय पत्रकारहरूसँगै दार्जिलिङ, सिलिगुडी लगायतका नेपाली भाषाका सञ्चारमाध्यमका पत्रकारहरूको समेत उपस्थितिमा भएको समारोहमा चलचित्रका कलाकारहरूले आफ्नो अनुभव साटासाट गरेका थिए । सो क्रममा प्रमुख अभिनेता सौगात मल्लले यो चलचित्रको कथा आफ्नै जस्तो लागेको र यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।

‘बम बहादुर’ चलचित्रले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहहरूलाई पर्दामा उतारेको छ । यसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूलाई मार्मिक ढङ्गले चित्रण गरेको पत्रकार सम्मेलनमा बताइयो ।

लेखक तथा निर्देशक जोन राईले यो चलचित्र बनाउनुको उद्देश्य आफ्नो इतिहास नबिर्सौँ भन्ने रहेको बताए । चलचित्रको महत्वलाई उजागर गर्दै राईले भने, ‘अर्को उद्देश्य भनेको अब त्यस्तै प्रकारको आन्दोलन नहोस् । भिन्न प्रकारको शिक्षित समाज बनोस् तथा खुकुरी र बन्दुकले होइन दिमागले आन्दोलन गरौँ भन्ने हो ।’

अभिनेता सौगात मल्लले चलचित्र ‘बम बहादुर’मा दर्शकले आफ्नै कथा देख्ने अपेक्षा गरे । ‘मलाई विश्वास गरी यो पात्रको लागि मलाई छनोट गर्नुभएकोमा निर्देशक निर्मातालाई धन्यवाद छ । स्क्रिप्ट पढ्दा मलाई आफ्नै कथा जस्तो महसुस भएको थियो । म निकै भावुक भएको थिएँ र तुरुन्तै मैले यो कथामा काम गर्छु भनेर सोच्न खासै समय लगाइन । नेपालमा बस्ने जतिले पनि यो चलचित्र हेर्नु हुन्छ यो कथा आफ्नै हो जस्तो लाग्छ भन्ने लाग्छ’, मल्लले बताए ।

चलचित्रकी प्रमुख अभिनेत्री अनिशा रसाइलीले यो चलचित्रले हामी सबैको एउटै कथा हो भन्ने पक्षलाई उजागर गर्ने बताइन् । उनले भनिन्,‘म सिक्किमको भएकोले मलाई त्यति धेरै आइडिया थिएन, जब म यो फिल्म सुट गर्न थालेँ, त्यो लोकेसनमा पुरानो समयमा समस्या भोग्नु भएकाहरूको कुरा सुन्दा डरलाग्दो थियो । मेरो अनुरोध छ कि यो फिल्म जरुर हेर्दिनुस् र त्यो पीडालाई महसुस गर्नुस् । हामी सबै एउटै हौ ।’

कलाकार शान्तिला तामाङले यस चलचित्रबाट आफूले ठूलो आशा बोकेको बताइन् । दार्जिलिङ निवासी उनले भनिन्,‘नेपाललाई दुःख हुँदा हामीलाई पनि दुख्छ । चलचित्रमा जुन कथा उठाएका छौँ यसले नेपालीलाई पक्कै छुन्छ ।’

बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको यस चलचित्रको प्रमुख भूमिकामा सौगात मल्ल रहेका छन् । अन्य कलाकारहरूमा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, धीरज चाम्लिङ लगायतको अभिनय रहेको छ ।

‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन् । जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस चलचित्रको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन् । यसमा सङ्गीत तथा गीत दीपङ्कर सिंह मुखियाले तयार पारेका हुन् भने म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले गरेका छन् ।

चलचित्रका लाइन प्रोड्युसर प्रकाश हमाल, कलरिस्ट कुनाल कुँवर, साउन्ड मिक्सर मुकेश शाह हुन् । वितरण रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछ भने पोस्ट प्रोडक्शन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियोमा गरिएको हो ।

कमेन्ट गर्नुहोस्