अन्तर्राष्ट्रिय श्रमिक दिवसमा ‘लेबर’ घोषणा

फिल्म । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ आज विश्वभर मानाइदै गरेको एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक पुर्णेन्दु के झाले फिल्म ‘लेबर’ को घोषणा गरेका छन् । पुर्णेन्दु प्रोडक्सन्स प्रालि. र अरिपन फिल्म्स प्राइभेट लिमिटेडको संयुक्त व्यानरमा निर्माण हुने फिल्ममा विदेशिन बाध्य नेपाली र विदेशिन वाध्य बनाइने नेपालीको कथालाई प्रस्तुत गरिने निर्देशक झाले बताए ।

‘हाम्रो देशबाट लेबरको काममा विदेशिन सङ्ख्या बढी छ । उनीहरूको आ आफ्नै कथा छ । ती कथालाई पर्दामार्फत धेरै व्यक्तिसम्म पुर्याउनु पर्छ भन्ने लागेर हामीले फिल्म निर्माण गर्दै छौँ’, निर्देशक झाले भने । उनले फिल्मलाई मैथली भाषामा तयार गर्दैछन् । यद्यपि उनले नेपाली र भोजपुरीमा स्वरांकन गरेर प्रदर्शन गर्नेछन् ।

‘हामीले बाहिर त बजार बनायौं तर नेपालमै मधेशमा स्वदेशी फिल्मलाई दर्शकले साथ दिएका छैनन् । यसकारण पनि विविध भाषामा तयार गरेर यसलाई प्रदर्शन गर्ने तयारी गरिरहेका छौँ’, उनले भने ।

सतेन्द्र झा, संजय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धिरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह-निर्माता रहेको फिल्मलाई निर्देशक झासँगै नरेश मिश्राले लेखेका छन् ।

उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायतका कलाकार अहिले तय भएको र अन्य कलाकार छिटै घोषणा गरिने निर्देशक झाले बताएका छन् ।

फिल्ममा प्रवेश मल्लिकको सङ्गीत तथा पाश्र्वसङ्गीत, हिमाल केसीको द्वन्द्व निर्देशन, आलोक शुक्लको छायांकन, निमेष श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन, मल्लाज अडियो वर्कसको साउण्ड डिजाइन तथा मिक्सिङ, अक्की थेक्पाको कला निर्देशन रहेको छ ।

फिल्मको डिजिटल पार्टनरको रुपमा नेपाली भाषाको लागि ओएसआर डिजिटल र भोजपुरी तथा मैथली भाषाको लागि अरिपन फिल्म्स प्राइभेट लिमिटेड रहेको छ । प्रबिण कुमार रावत प्रथम सहायक निर्देशक रहेको फिल्म ‘लेबर’ लाई यसै वर्ष सन् २०२४ को अन्तिम महिना डिसेम्बरमा प्रदर्शन गर्ने निर्माण पक्षले जनाएको छ ।

कमेन्ट गर्नुहोस्