दया र मिरुनाको ‘रङ्गेली’ दोस्रो सातामा

फिल्म । दयाहाङ राई र मिरुना मगरको अभिनय रहेको फिल्म ‘रङ्गेली’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो हप्ता रिलिज भएका सबै हलहरूमा केही सङ्ख्या कम गरी यस हप्ता पनि शो प्राप्त भएका छन् । निर्देशक तथा लेखक अर्जुन सुवेदीले पहिलो हप्ताको अन्त्यतिर आइपुग्दा दर्शकको उपस्थिति हलमा बढिरहेको बताएका छन् ।

उनले भने,’दर्शक निकै चलाख हुनुभएको महसुस गरेँ । प्रतिक्रिया हेरेर मात्र हल पुग्ने निर्णयमा पुग्ने गरेको भेटियो । म निकै उत्साहित छु ।’ रिलिजको पहिलो दिनदेखि नै उत्साहजनक व्यापार गरिरहेको ‘रङ्गेली’को विदेशमा माग बढेको छ । नेपालमा प्राप्त प्रतिक्रियासँगै विदेशबाट ‘डिमान्ड’ आएको निर्देशक सुवेदीले बताए । यो फिल्म अमेरिका, क्यानडा, जापान र कोरियामा पहिले नै बिक्री भइसकेको थियो ।

नेपालमा मन पराइएपछि मलेसिया, दुबई, कतार, बहराइन, साउदी, ओमनमा हालै मात्र बिक्री भएको सुवेदीले बताए । अस्ट्रेलिया, युरोप, हङकङ, भारत लगायतका देशहरूमा रिलिजको लागि त्यहाँस्थित वितरकहरूसँग रिलिजको लागि अन्तिम चरणमा पुगेको उनले बताए ।

जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । त्यस्तै मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा सुरज लम्साल र ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ले रिलिज गर्दैछन् ।

दर्शकबाट केही लामो भएको प्रतिक्रिया पाएपछि प्रदर्शनरत फिल्म २१ मिनेट घटाइएको थियो । लम्बाई कम भएपछि दर्शकले झनै ‘इञ्जोए’ गरेको निर्देशक सुवेदीले बताए । ‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यसका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाँकार सुशन प्रजापति हुन् ।

कमेन्ट गर्नुहोस्