देश । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाली फिल्ममा योगदान पुर्याउनुभएका महिला फिल्मकर्मीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्मान गरेकी छिन् । उनले अभिनेत्री केकी अधिकारी, प्रियंका कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल, पत्रकार शारदा थापालाई जनही नगद राशि पच्चीस हजारसहित प्रमाणपत्रमार्फत सम्मान गरेकी हुन् । चलचित्र विकास बोर्डको आयोजनामा आज यहाँ चाबहिलस्थित बोर्डको सभाहलमा बेलुकी आयोजित कार्यक्रममा फिल्मकर्ममा निरन्तर क्रियाशील महिलालाई सम्मान गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया मन्त्री शर्माले दिईन् ।
‘म महिला फिल्मकर्मीसँग भेटघाट गरेर छलफल गर्न चाहन्थे । विविध परिस्थितिले आज त्यो अवसर जुरेन । तर, अहिले फिल्ममा महिलाको सहभागिता र नेतृत्व देख्दा खुसी लाग्छ । कुनै समय अभिनय गर्न घरबाट निस्किन गाह्रो हुने महिला अहिले निर्देशक, निर्मातासँगै प्राविधिक पक्षमा समेत सक्रिय हुनुहुन्छ’, मन्त्री शर्माले भनिन्,‘अहिले छलफलमा रहेको चलचित्र ऐनले महिलालाई चलचित्र विकास बोर्ड, चलचित्र जाँच समिति लगायतमा बलियो उपस्थिति गराउने छ । त्यसले महिलालाई नेतृत्वदायी भूमिकाका लागि अवश्य तयार गर्नेछ ।’
उनले निर्माण हुने ऐनले उल्लेखित संस्थामा महिलाको सहभागिता अनिवार्य गराउने जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर महिला चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रमसँगै अन्य विविध सिर्जनात्मक क्रियाकलापलाई बोर्डले निरन्तरता दिने पनि मन्त्री शर्माले बताउनुभयो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले दोस्रो कार्यकालको पहिलो कार्यक्रममा सञ्चार मन्त्री शर्मालाई बोर्डमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । ‘मन्त्रीज्युसँग हामीले धेरै कार्य योजना निर्माण गरेका थियौँ । उहाँनै पुनः मन्त्री बनेर आउँदा बोर्ड र मलाई सहज भएको छ । हाम्रो कार्ययोजनाले छिटै मुर्तरुप पाउनेछन्’, अध्यक्ष केसीले भने ।
कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव रामहरी सुवेदी, केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नेत्रप्रसाद सुवेदी, चलचित्र विकास बोर्डका सदस्यहरू रवि अधिकारी, राजु केसी, केएल बुढाथोकी, केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषिराज आचार्य, प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री चैत्य देवी, करिश्मा मानन्धर, चलचित्र निर्देशक रक्षा सिंह राणा, चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुस्कर लामा लगायत सहभागी थिए ।










