‘जुनकिरी नाँचगानमा मात्र सिमित छैन’ : मिरुना

फिल्म । अभिनेत्री मिरुना मगर यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘जुनकिरी’ चरित्रमा देखिँदैछिन् । मिरुनाको भनाइमा उनले निभाएको यो चरित्र उनको चलचित्र करियरकै अहिलेसम्मको फरक चरित्र हो । उनलाई यो चलचित्रमा थारु गेटअपमा दर्शकले हेर्न पाउनेछन् ।

जुनकिरी चरित्रमा अभिनय गरिरहँदा मिरुनाले समाजका धेरै पात्रहरूको प्रतिनिधित्व गरेको अनुभव भएको स्मरण गर्छिन् । ‘जुनकिरी एकदमै स्वतन्त्र र आफ्नै बाटोमा हिँडिरहेकी पात्र हो । यस चलचित्रका खलपात्रहरु जो ‘ब्ल्याक एण्ड ह्वाइट’ नभईकन ‘ग्रे’ जोनका छन्, उनीहरूको यात्रामा उसले आफैलाई एकदमै कठोर तरिकाले डिल गर्छिन् त ? यो चलचित्रमा हेर्न पाइन्छ’, मिरुनाले भनिन् ।

स्क्रिप्ट पढ्दा देखि नै जुनकिरीको चरित्र विकासमा ध्यान दिएको उनी बताउँछिन् । आफैँले पात्र चित्रण गर्दा समाजमै भएको पात्रहरूलाई हेरेर उनीहरूको यात्रा, भावना र भोगाइलाई वास्तविक हिसाबले त्यसलाई पर्दामा ल्याउने प्रयास गरेको उनले बताइन । उनले भनिन्,‘रङ्गेलीमा प्रमुख पात्रहरू विजय (दयाहाङ राई ), भगवान् दादा (अर्पण थापा), माने (प्रवीण खतिवडा) र यादव (रुपेश झा) मेरो जीवनमा जोडिने चरित्रहरू हुन् ।’ उनले प्रायः चलचित्रमा महिला कलाकारलाई प्रेमको पात्रको रूपमा मात्र चित्रण गरिने भएता पनि यसमा आफ्नो चरित्र प्रेम भन्दा माथि रहेको बताइन् ।

उनले वास्तविक जीवनमा जुनकिरीको अवस्था नभोगेको भएकाले त्यसलाई पर्दामा ल्याउन समाजमा चरित्र खोजेको बताउदै जीवन अगाडि बदिरहदा आउने चुनौती चाख लाग्दो रहेको बताइन । उनले मानव जीवनमा र चरित्र निर्वाह गर्दा भोगेको समानान्तर अनुभव, अवस्था या देखिरहेको अवस्थालाई खोतलेर त्यहाँबाट प्राप्त भावनालाई आफ्नो चरित्रमा देखाउने प्रयास गरेको खुलाइन् । ‘अन्य चरित्रको जस्तै जुनकिरीलाई पनि पावर चाहिन्छ । उसले पनि धोका पाउँछे । दैनिक जीवनमा पनि मान्छेसँग पावर भयो भने आफूले गर्न चाहेको कुरा गर्न पाउँछन् । यो चलचित्रकी जुनकिरी चरित्रको कुरा पनि त्यही हो । यो दृष्टिकोणबाट हेर्दा जुनकिरीलाई पनि मैले नै उसको यात्रामा त्यसरी गाइड गर्न खोजेको बुझेको छु’, मिरुना प्रस्ट्याउँछिन् ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेकाछन् । यसमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

कमेन्ट गर्नुहोस्