‘अगस्त्य शारीरिकसँगै मानसिक रुपमा बलियो पात्र हो’ : निर्देशक चौधरी

फिल्म । आउँदो शुक्रबार अर्थात् फागुन १८ देखि फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ प्रदर्शन हुँदैछ । लभस्टोरीलाई पर्दामा ल्याएर निर्देशनमा डेब्यु गरेका सौरभ चौधरीले दोस्रो फिल्ममा एक्सन, सस्पेन्स र थ्रिलर विधालाई रोजेका छन् । उनले शारीरिक र मानसिक दुवै रुपमा बलिया सप्तऋषिमध्येका एक ‘अगस्त्य’ बाट प्रभावित भएर फिल्मको पात्रलाई तयार गरेका छन् ।

उनले फिल्ममा चित्रण गरेको पात्र शारीरिक र मानसिकसँगै कुनै परिस्थितिमा पनि नटुट्ने स्वभावका छन् । द्वन्द्वप्रधान यो फिल्ममार्फत उनी समाजका खराब कुरालाई हटाउँदा उचित हुन्छ भन्ने मत राख्छन् ।

‘यो मेरो ड्रिम प्रोजेक्ट हो । मैले केही फरक गर्ने प्रयाश गरेको छु । किनकि यसमा सिनेम्याटिक अनुभव दिलाउन मेहनत गरिएको छ । यसले दर्शकलाई नयाँ सोच निर्माणमा अग्रसर गर्छ’, निर्देशक चौधरीले भने । उनले यो विषयलाई रोजेको कारण सामाजिक घटनाक्रम बताउछन् । उनका अनुसार यो घटना हाम्रो समाजको हो । जसलाई समाजले बुझ्न र त्यस विरुद्ध एक भएर उभिनु जरुरी छ ।

‘यसको शैली र प्रस्तुतीकरण मेरा लागि चुनौती नै हो । हाम्रो सक्षमताबाट यसलाई उकृष्ट बनाउने कोसिश गरेका छौँ । यो समाजको नभनिएको वर्गको विषय र कथा हो । फिल्म रिलिज भइसकेपछि सबै दर्शकले अपनत्व महसुस गर्न सक्नुहुन्छ’, निर्देशक चौधरीले भने ।

लभस्टोरीमार्फत डेब्यु गरेका निर्देशक द्वन्द्वप्रधान फिल्मका पारखी हुन् । त्यहिँ भएर उनले दक्षीण भारतीय फिल्मको झल्को दिने प्रचार सामग्री तयार गरेका छन् । ‘हाम्रो लगानीको क्षमता सानो भएकाले सीमित बजेटभित्र उत्कृष्ट काम निकाल्ने हाम्रो प्रयास भएको छ । यो फिल्म एक्सन मात्रै होइन । फिल्मको बलियो भनेको यसको स्क्रिप्ट हो । यसको पटकथा कसिलो छ । यसमा इमोसनल चिजहरु छन्’, उनले भने ।

उनले यसको दोस्रो भागको कथा तयार भएकाले नै च्याप्टर एकका रुपमा दर्शक माँझ ल्याउन लागिएको बताए । उनले दोस्रो भागको केही दृश्य पनि खिचेका छन् । सम्भवत उनले ती दृश्यलाई फिल्ममा प्रयोग गर्नेछन् । ‘कथा लेखनकै क्रम दुई भाग तयार भएको हो । सोही कारण यसको निर्माण शैली दुई भागमा छ । पहिलो भाग राम्रो भएमा यसको दोस्रो च्याप्टर सन् २०२६ मा आउने छ । त्यसअघि एउटा रोमान्टिक कमेडी फिल्मको तयारी हुँदैछ’, निर्देशक चौधरीले भने ।

अभिनेता सौगात मल्लले फिल्ममा मानसिक रूपमा आफू तनावमा रहेको समयलाई अनुभूत गरेर क्यारेक्टर निर्माण र अभिनय गरेको बताए । ‘म आफैँ पनि झण्डै-झण्डै त्यस्तै अवस्थाको नजिक पुगेर फर्किएको धेरैलाई थाहै छ । त्यसलाई पनि मैले फिल गरेको थिएँ’, उनले भने, ‘त्यस्तो चरित्र निर्वाह गर्न शारीरिकभन्दा पनि मानसिक रूपमा गरिने काम अफ्ठ्यारो हुन्छ ।’

अधिकांश फिल्ममा रोम-कमको भूमिकामा देखिएका अभिनेता नाजिर हुसेनले लामो समयपछि आफूले फरक र राम्रो चरित्रमा काम गर्न पाएको बताए । उनले आफूले फिल्ममा फरक-फरक इमोसनमा काम गरेकाले हरेक कलाकारको एउटा रहरलाई ‘द अनब्रेकेबल अगस्त्यः च्याप्टर १’मा पुरा गरेको बताए । फिल्ममा प्रमोद अग्रहरि, रवीन्द्र झा, मलिका महतलगायतका कलाकारले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्