फिल्म । निर्देशक अनिल योञ्जनको निर्देशनमा फिल्म ‘रुमानी रङ्ग’ बन्ने भएको छ । आज कमलपोखरीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता धीरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहने जानकारीसहित निर्माण घोषणा गरिएको छ । यसअगाडि ‘इन्टु मिन्टु लन्डनमा’ जोडी बनेर प्रस्तुत भएपछि दोस्रो पटक काम गर्ने कुराले उत्साहित रहेको धीरजले बताए ।
‘डायरी’ मार्फत निर्देशनको सुरुआत गर्नुभएका निर्देशक योञ्जनले यसपटक पूर्ण रुपमा प्रेम कथानकको तयारी गरेको जानकारी दिए । ‘अहिले हाम्रो प्रेम कथानक चलचित्रहरू परिवारले हेर्ने कमै बनिरहेका छन् । यो प्रेम कथामा परिवार पनि उत्तिकै जोडिएको छ । यो सबै वर्गका दर्शकलाई हुने किसिमले तयार गर्नेछु’, उनले भने ।
फिल्मको छायाङ्कन आउँदो वर्ष विसं २०८१ को वैशाख अन्तिमबाट अष्ट्रेलियामा हुने जानकारी दिए। यसमा कथा/पटकथा/संवाद निर्देशक योञ्जनकै रहने छ भने जिएम ठकुरी प्रस्तुकर्ता र हरि मल्ल ठकुरी निर्माता रहेका छन् ।
आविस्कार बहुसंचार प्रा लिको सहकार्य रहने फिल्ममा अष्ट्रेलियाको लाइन प्रोडियूसरमा डिव्वाईज इन्टटेन्मेन्ट रहेको छ। यो कम्पनीले ‘डमरूको डण्डीवियो’, ‘नेप्टे’, ‘क्यापटेन’ तथा ‘ए मेरो हजुर’ लगायतका १० बढि नेपाली फिल्अमकोष्ट्रेलियामा वितरण गरिसकेको छ ।
यसको ९० प्रतिशत सुटिङ अष्ट्रेलियामा हुनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ । फिल्मले सजिलोसँग तोडिने र गार्होसँग जोडिने मायालाई हसाएर, रुवाएर विदेशमा बस्ने विद्यार्थीको दु:खसमेत देखाउनेछ । महेश पौडेलको सिनेम्याटोग्राफी रहने फिल्ममा सुशिल थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सह-निर्माता छन् ।










