फिल्म । नेपाली फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले तेस्रोलिंगी महिलाको पहिचान खुलाउने संघर्षलाई चित्रण गरेको छ ।ट्रेलरमा आफ्नो लैंगिक पहिचान उजागर गर्न चाहने छोरा र त्यसलाई दबाउन खोज्ने बाबुबीचको तनाव र द्वन्द्व देखाइएको छ । सानैदेखि महिलाको पहिरन मन पराउने छोरालाई बाबुले ‘लाउरे’ बनाउन दिएको दबाब र त्यसबाट मुक्त हुने प्रयासलाई ट्रेलरले प्रष्ट्याएको छ । आफ्नो वास्तविक पहिचान लुकाउन नसकेर घर छोड्ने निर्णयमा पुग्दा छोरोले परिवार, छिमेकी, आफन्त र साथीहरूबाट भोग्ने व्यवहार र तनावलाई ट्रेलरमा समेटिएको छ ।
फिल्मका मुख्य पात्र नाजिर हुसेनसहित सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीलाई ट्रेलरमा देख्न सकिन्छ। यो फिल्म समुन्द्र भट्टको निर्देशनमा बनेको छ । नेपालको पहिलो पूर्णरूपमा ट्रान्स कथामा आधारित यो फिल्ममा नाजिर हुसेनले पारालैंगिक महिला (ट्रान्सवुमन) को भूमिका निर्वाह गरेका छन् ।
फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले प्राप्त गरेको छ। सम्पूर्ण पोस्ट-प्रोडक्सन कार्य हलिउड शैलीमा विदेशमा सम्पन्न भएको छ । सम्पादन, रङ संयोजन, मिक्सिङ, साउन्ड डिजाइन र पृष्ठभूमि संगीतको काम हलिउडका मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । हलिउड फिल्म ‘ग्ल्याडिएटर–२’ मा स्वर दिएकी लिजा जेरार्डले यो फिल्ममा पनि स्वर दिएकी छिन् ।
नेपाली र हलिउड फिल्म प्रोडक्सन हाउसको सहकार्यमा बनेको यो फिल्ममा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । जेफ्री जे वेन र स्टिभ जोन्स्टन कार्यकारी निर्माता छन् भने अनुपम श्रेष्ठ सह-निर्माता छन् । आलोक शुक्लाको छायांकन रहेको फिल्ममा लेखु सहयात्रीको गीत रचना छ ।












