
फिल्म । सौरभ चौधरीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरेको ट्रेलरले फिल्मको हाइप बढाउने निश्चित छ । एक्सन दृश्यले भरिएको ट्रेलरमा अभिनेताद्वय सौगात मल्ल र नाजिर हुसेनको मित्रता, एक्सन र मानव बेचविखनबाट निम्तिने समस्यालाई देखाईएको छ ।
सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी आदिको पनि अभिनय रहेको छ ।
‘हामीले यसमा अगस्त्य ऋषिको ज्ञान र बलको मिश्रणलाई पात्रमा प्रयोग गरेका छौँ । मैले बनाउन चाहेको फिल्मलाई पर्दासम्म ल्याउन साढे दुई वर्ष मेहनत गरेको छु’, निर्देशक चौधरीले भने ।
कार्यक्रममा उपस्थित अभिनेता मल्ल, हुसेन र अभिनेत्री महत लगायतले आफ्नो भूमिका र त्यसलाई तयार गर्न गरिएको तयारीको विषयमा चर्चा गरेका थिए । ‘म जन्डिसको विरामी हुँदा पनि टिमको मेहनत देखेर रेस्ट गर्न सकिन । मैले यसमा आफूले सक्ने मेहनत गरेको छु, किनकि मैले यो भूमिका निर्वाह गर्न सक्दिन भन्ने धेरै सुनेको थिएँ’, अभिनेता हुसेनले भने ।
फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेल निर्मातामा छन् भने कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा र भाष्कर स्वाँरको ब्याकग्राउन्ड म्यूजिक तथा एसडी योगीको संगीत छ ।












