‘हात्तीछाप’लाई लिएर उत्साहि दया

फिल्म । माघ २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ लाई लिएर अभिनेता दयाहाङ राई उत्साहित देखिएका छन् । उनले पत्रकारहरूसँग कुराकानी गर्दै यो फिल्मको कथावस्तु आफूलाई निकै मन परेकाले काम गरेको बताए ।

‘यो फिल्मको कथावस्तु निकै नै राम्रो छ । यसको मुख्य उद्देश्य त व्यावसायिकता नै हो । तर, पनि फिल्मले समाजका विभिन्न विषयवस्तुलाई समेटेको छ । यो फिल्म दामी बनेको छ । यसैले, म उत्साहित छु’, अभिनेता राईले भने ।

अभिनेत्री उपासना सिंह ठकुरीले पनि यसको कथावस्तु शक्तिशाली रहेको बताइन् । ‘फिल्म भित्र दया अम्बरेको पात्रमा हुनुहुन्छ । जसले, आफ्नी प्रेमिकालाई मात्र नभएर सिंगो समाज र देशको बारेमा सोच्छ । जसको मनमा कुनै पनि स्वार्थ छैन’, उनले भनिन् ।

यो फिल्मले आम नेपालीहरूको कथालाई जोड्ने दयाको भनाई छ । उनले, यो फिल्म लामो समयपछि पनि दर्शकले सम्झन सक्ने दाबी गरे । किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ ।

कार्तिकको २४ गतेबाट रिलिजमा आएको दयाहाङ अभिनीत फिल्म ‘दिमाग खराब’पछि कुनै पनि नेपाली फिल्मले व्यापारिक रुपमा सफलता हात पारेका छैनन् । यसैले, ‘हात्तीछाप’बाटै बक्स अफिसलाई चलायमान बनाउनुपर्ने चुनौती पनि दयाको काँधमा छ ।

कमेन्ट गर्नुहोस्