फिल्म । गत माघ १ गते अर्थात् माघेसङ्क्रान्तिको अवसर पारेर एकसाथ सात नेपाली चलचित्रको गीत, श्रव्यदृश्य, पोष्टरसँगै घोषणा लगायतका विविध प्रचार सामग्री सार्वजनिक गरियो । केहीले इन्टरनेटको माध्यम तथा केहीले पत्रकार सम्मेलनको आयोजना गर्दै आज आफ्नो चलचित्रको गतिविधी सार्वजनिक गरे । विदा र माघेसङ्क्रान्ति हुनुका साथै उक्त दिन धार्मिक हिसाबले शुभ मानिने हुँदा एकै दिन चलचित्रको विभिन्न गतिविधीहरू भएका हुन् ।
उक्त दिन चलचित्र ‘उपहार’ को पोस्टर, चलचित्र ‘खुश्मा’, ‘मोदिबेनी’, ‘खजुरे ब्रो’ र ‘म्याउँ’ निर्माण घोषणा, ‘रङ्गेली’ को श्रव्यदृश्य (टिजर) र ‘महाजात्रा’ को गीत सार्वजनिक गरियो । संवत एकै दिन यति धेरै चलचित्रको प्रचार सामग्री सार्वजनिक गरिएको यो पहिलोपटक हो । चलचित्र ‘उपहार’ का निर्देशक ज्ञानेन्द्र देउजाले माघेसंक्रान्ति र सोमबारका साथै शुभ साइत रहेकाले आफूसहित अन्य चलचित्रकर्मीले पनि प्रचार सामग्री सार्वजनिक गर्न उपयुक्त देखेको हुन् सक्ने बताए ।
‘हामीले प्रचार पहिले नै सुरू गरिसकेका थियौँ । यसलाई सार्वजनिक कहिले गर्ने भन्ने विषयमा सल्लाह हुदाँ नै यही समयमा गरौँ भन्ने भयो । संवत अन्य चलचित्रकर्मीको पनि त्यहि भएको हुन् सक्छ’, निर्देशक देउजाले भने ।
निर्माण घोषणा गरिएको चलचित्र ‘खुश्मा’ का निर्देशक अशोक थापामगरले आउँदो माघ ५ देखि छायाङ्कन प्रारम्भ हुने भएकाले आज पुजा गर्दै मुहुर्त गरिएको बताए । ‘मन्दिरमा मुहुर्त गर्ने भएपछि माघ १ नै रोजिएको हो । किनकि चलचित्रकर्मी मुहुर्त गरेर चलचित्र घोषणा गर्छौं । क्यामेराको पुजा गरेर छायाङ्कन आरम्भ गर्छौं’, निर्देशक थापामगरले भन्नुभयो ।
चलचित्र ‘महाजात्रा’ को गीत सार्वजनिकको विषयमा अभिनेतासँगै कार्यकारी निर्माता रहनुभएका रवीन्द्रसिंह बानियाँले विदाको समय सदुपयोग गरिएको बताए । ‘हाम्रो काम एक दिन अगाडि सकिने भएकाले यो समयलाई तय गरेका हौँ । विदाको समयमा अन्यको तुलनामा बढी दर्शक पाइन्छ भन्ने विश्वास छ । साथै, हाम्रो चलचित्र चैत ९ मा प्रदर्शन हुने भएकाले प्रचारप्रसार आरम्भ गर्ने समय पनि भएको थियो’, कार्यकारी निर्माता बानियाँले भन्नुभयो । अन्य समयमा सामान्य रुपमा एकदेखि दुई कार्यक्रम हुने भएता पनि माघ १ गते चाडसँगै विदा भएकाले सात चलचित्रले आफ्नो प्रचार सामग्री सार्वजनिक गरेका हुन् ।











