फिल्म । नेपाली फिल्ममा ‘स्टाइलिस्ट एक्टर’को रूपमा परिचित अभिनेता अनुपबिक्रम शाहीले सामाजिक सञ्जालमार्फत भारतीय अभिनेता ऋतिक रोशनसँगको भेटघाटलाई सेयर गरेका छन् । तीन वर्षदेखि आफू नेपालमा ब्राण्ड एम्बेसडर रहेको एक पेय पदार्थकै केही कामको शिलशिलामा दुईको भेट भएको हो । ऋतिकसँगको भेटपछि अनुपले उनलाई ‘डाउन टू अर्थ’ अभिनेताको रूपमा पाएको बताए । भेटमा नेपाली फिल्म उधोग, नेपालमा वलिउड फिल्मको क्रेजबारे कुरा भएको अनुपले बताए । भेटमा ऋतिकले नेपालले आफुलाई सधैं माया दिएको र नेपालप्रति सधैं सम्मान रहेको बताएको भन्दै एक्सन प्रधान फिल्मको बारेमा चासो राखेको अनुपले सुनाए ।
मुम्बईमा विभिन्न फिल्म निर्देशकहरूसँग समेत भेट गरेको बताउँदै अनुपले ऋतिकसँग वलिउड सहकार्यको संभावनाबारे राखिएको जिज्ञाशामा केहि खुलाउन चाहेनन् । अनुपले यसअघि नै सिक्किमको एक यथार्थ कथामा आधारित हिन्दी भाषाको भारतीय फिल्म ‘जार’मा प्रमुख भुमिका निभाएका छन् । भारतको राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गिताञ्जली थापा प्रमुख अभिनेत्री रहेको उक्त फिल्म यो वर्ष प्रदर्शनमा आउँदैछ । फेब्रुअरीबाट फ्लोरमा जाने नयाँ नेपाली फिल्मको तयारीमा रहेका अनुपले धेरै कुरा नखुलाएरै हालैको मुम्बई बसाइलाई ‘सरप्राइज प्याकेज’ भनेका छन् ।
हालै मात्र इन्स्टाग्राममा उनले विश्वचर्चीत सु-प्रसिद्ध फोटोग्राफर रोहन श्रेष्ठसँगको तश्विर समेत सेयर गरेका छन् । विश्व चर्चीत खेलाडी, वलिउडमा प्रायः सबै स्टार कलाकारहरूको ‘फोटोसूट’ गरिसकेका रोहनले हालसम्म कुनै पनि नेपाली कलाकारहरूको तस्विर सूट गरेका छैनन् । रोहनसँगको तश्विरले समेत अनुपको मुम्बई बसाइलाई थप केहि विशेष रहेको पुष्टि गर्छ ।












