फिल्म । नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैली (मेकिङ) लगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लूट’ मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक हुन्, निश्चल बस्नेत । निर्देशकसँगै अभिनेता, गायक लगायतका विविध विधामा आफ्नो कौशलता देखाएका बस्नेत नयाँ चलचित्र ‘दिमाग खराब’ मार्फत दर्शक माँझ आएका छन् । कुनै समय पर्दा पछाडी रहेर काम गर्ने निर्देशक भएता पनि पर्दा अगाडीका अभिनेता भन्दा बढी लोकप्रियता हासिल गर्न सफल भएका निर्देशक बस्नेतले निकै कम चलचित्र निर्देशन गरेका छन् ।
आफूमा दर्शकले गर्ने विश्वासले पनि विषयवस्तु चयनमा समय लाग्ने उनले बताउनुभयो । ‘म आम मानिसकै कथा भन्न रुचाउछु । त्यसैले गर्दा केही ढिलाई भयो होला, तर त्यो तयारीको समय थियो’, निर्देशक बस्नेतले भने,‘मेरो कोसिस रमाइलोसँगै राम्रो चलचित्र बनाउने हुन्छ । यसपटक पनि त्यहिँ प्रयास छ ।’
यद्यपि आगामी प्रोजेक्टमा भने ग्याप धेरै नरहने उनले बताए । चलचित्रको हल भिजिट र पोस्ट रिलिजको काम सकिएपछि नयाँ प्रोजेक्टमा काम गर्ने तयारीमा निश्चल छन् । ‘केही आइडिया छन्, ती मध्ये एक सेलेक्ट गरेर काम अगाडि बढाउने योजनामा छु । संवत आउँदो वर्षनै म निर्देशित नयाँ चलचित्र दर्शकले हलमा पाउनु हुनेछ’, निश्चलले भने ।
उनले अहिले प्रदर्शनरत चलचित्रको कथा राजनीतिक दल नभई साधारण व्यक्तिमार्फत भनिएको बताए । ‘देशको परिस्थितिले एउटा सरल जीवन चाहने आम मानिसको दिमाग खराब गरिरहेको सन्दर्भ चलचित्रमा छ । यद्यपि हो राजनीतिक नभई सामाजिक विषयमा तयार गरिएको चलचित्र हो’, निर्देशक बस्नेतले भन्नुभयो ।
चलचित्रमा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, सुमन कार्की, विजय बराललगायतका कलाकारले अभिनय गरेकाछन् । चलचित्रमा आकाश बरालले लेखन, सुशन प्रजापतिले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, जयन के बाइबा र बाबुल गिरीले सङ्गीत, राजकुमार उप्रेतीले द्वन्द्व निर्देशन तथा रोहित शाक्यले पार्श्व सङ्गीत सिर्जना गरेका छन् ।











