‘पशुपति प्रसादमै केन्द्रीत रहनेछ तेस्रो शृङ्खला’ : खगेन्द्र

फिल्म । ‘पशुपति प्रसाद’ को तेस्रो शृङ्खला निर्माण हुने घोषणा गरिएको छ । ‘पशुपति प्रसाद २ः भष्मे डन’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको अवसरमा निर्माण कम्पनि टुकी आर्ट्सद्वारा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माण हुने घोषणा गरेको हो । रोजिना सिटौलाले निर्माण गर्ने फिल्ममा खगेन्द्र लामिछानेको लेखन तथा अभिनय रहनेछ ।

‘यसपटक अभिनय र लेखनमा केन्द्रीत हुन्छु । हामी दोस्रो शृङ्खलाको समयमा हलमा भिजिटमा पुग्दा पनि पशुपति प्रसादलाई कहिले हेर्न पाइन्छ भन्ने जिज्ञासा राख्नु हुन्थ्यो । त्यसैले हामीले यसको काम सुरु गरेका छौँ’,अभिनेता लामिछानेले भने । उनले तेस्रो शृङ्खलामा पशुपति प्रसादको कथालाई देखाउने प्रस्ट पारे ।

‘हामीले भष्मे डनमा उसको कथामा मात्र केन्द्रीत गरेका थियौँ । यसपटक प्राप्त प्रतिक्रियाका आधारमा झनै परिपक्क हुँदैछौँ । यो कथा पूर्णतया पशुपति प्रसादकै वरपर घुम्नेछ’, अभिनेता लामिछानेले भने ।

निर्देशक दीपेन्द्रकुमार खनालले अपुरा कथा र छाडिएका पात्रलाई पुरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको बताए । लेखक खगेन्द्र लामिछानेले तेस्रो शृङ्खलामा शिर्ष भूमिका निर्वाह गर्दै छन् । यो समुहले ‘पशुपति प्रसाद’, ‘धनपति’,‘पशुपति प्रसाद २ : भष्मे डन’ निर्माण गरेका छन् । चलचित्रलाई काठमाडौँमा रीच इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्