फिल्म । दसैँलाई लक्षित गर्दै गत असोज २६ गते शुक्रबारबाट प्रदर्शन गरिएको फिल्म ‘परदेशी २’ले दोस्रो सातामा पनि दर्शकको राम्रो साथ पाइरहेको छ । प्रदर्शनको १३ औं दिनमा राम्रो शो संख्या र दर्शक अकुपेन्सीसहित फिल्म प्रदर्शनरत छ । पहिलो हप्ता र दोस्रो हप्ताको विकेन्डमा दर्शकबाट अपार माया पाएको फिल्म हेर्ने चापले बुधबार धेरै शो हाउसफुल छन ।
दोस्रो साताको अन्तिम तिर पुग्दा पनि दर्शनको राम्रो साथ पाउनुले फिल्म रुचाएको प्रमाणको रुपमा बुझ्न गाह्रो पर्दैन् । फिल्म हेरेर निस्कने दर्शकको आँखा रसाएका दृश्य समाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिनुले पनि सिनेमा सफलताको बाटोमा हिडेको बुझिन्छ । दर्शकको राम्रो साथ पाएपछि डेव्यु अभिनेता प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटीले देशका प्रमुख शहरहरु काठमाडौं, नारायणगढ, बुटवल, र नेपालगञ्ज पुगेर दर्शकसँग साक्षात्कार गर्नुका साथै दर्शकसँग सिनेमाको खुशी साटेका थिए ।
दर्शकबाट राम्रो साथ पाएपछि निर्माता राजेश बंशल र निर्देशक नारायण रायमाझिले खुशी व्यक्त गरेका छन् । दर्शकको यो साथ र सर्पोटले आगामी दिनमा अझै राम्रो फिल्म निर्माण गर्ने उर्जा मिलेको उनीहरु बताउँछन् ।
उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको नारायण रायमाझी निर्देशित फिल्ममा केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको पनि अभिनय छ ।
नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको फिल्ममा गीतकार रमेश बिजीको लेखन छ । निर्देशक रायमाझी र राजेश वंशलले मिलेर फिल्म निर्माण गरेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।











