दीपकले ल्याए फिल्म गीतको सङ्ग्रह

काठमाडौं । संगीतकार दीपक शर्माले आफूद्वारा संगीत भरिएको फिल्मको गीतको सङ्ग्रह बजारमा ल्याएका छन् । ‘दीपक शर्माका करोड क्लब चलचित्र गीतहरु’ नामाङकन गरिएको सङ्ग्रह एक समारोहबीच गीतकारहरु राजेन्द्र थापा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य चेतन सापकोटा, संगीतकार नरहरि प्रेमी, गीतकार डब्बु क्षत्रीले विमोचन गरे । शर्माले संगीत गरेका ६ वटा चलचित्रका एक करोड भन्दा बढी भ्युज भएका ६ वटै गीतहरु यो सङ्ग्रहित छन् ।

कार्यक्रममा बोल्दै संगीतकार शर्माले भने,‘मैले चलचित्र तेजावबाट चलचित्र संगीत सुरु गरेको हुँ । दर्शक श्रोताको मायाँले यहाँसम्म आईपुग्दा ६ वटा गीतले एक करोड देखि ३ करोड भन्दा बढी भ्युज पाएका छन् । यिनै करोड क्लबमा पुगेका गीतहरुको सँग्रहलाई आज सार्वजनिक गरेका हुँ।’

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य एवम् संगीतकार चेतन सापकोटाले दीपक शर्मालाई धेरै गीतमा करोड भ्युजको लागि शुभकामना दिँदै भने,‘दर्शकको यति धेरै मायाँ पाएका दीपकजीले अब आफ्ना यी हिट गीतले कहाँ कती रोयल्टी कमायो भनेर पनि खोजी गर्नु पर्छ । उहाँका दर्जनौ हिट गीतबाट अरु धेरै धनी भएका छन र अब उहाँले आफ्नो अधिकार खोज्नु पर्छ ।’

कमेन्ट गर्नुहोस्