लगातार सफल दीपक–दीपा समूह

फिल्म। अभिनेता दीपकराज गिरी लेखन र निर्माणमा सक्रिय हुनुहुन्छ। टेलीशृङ्खलामा पाईरहेको लोकप्रियतालाई उहाँले ठूलोपर्दासम्म ल्याउन सफल हुनुभयो। तत्कालिन समयमा दर्शकको रोजाईमा रहेको टेलीशृङ्खला तीतो–सत्यसँगै मेरी बास्सै र जीरे खुर्सानीका कलाकारको समूह बनाई चलचित्र ‘छ एकान छ’ निर्माण गर्नुभयो। त्यसपछि वडा नम्बर छ, छक्का पञ्जाको चार शृङ्खला र छ माया छपक्कै चलचित्रमार्फत पर्दामा देखिनुभएका गिरीको समूहमा सदस्यको फेरबदल पनि भयो। तर सफलता बढ्दै गयो। अभिनेता गिरी र दीपाश्री निरौलाले ‘शत्रु गते’ चलचित्रमा समूह भन्दा बाहिर काम गर्नुभयो। त्यो पनि उत्तिकै सफल रह्यो।

निर्माणदेखी नै एकाउन्न दिनको यात्रा हरेक चलचित्रले प्राप्त गरिरहेको सन्दर्भलाई अभिनेता गिरीले दर्शकको माया भन्नुभयो। “हामीले दर्शकको मन जितिरहेका छौँ। हामीलाई दबावनै त्यहि रहन्छ। हामी हरेक पटक मन जित्न आइरहेका छौँ र मन जितिरहेका छौँ”,अभिनेता गिरीले भन्नुभयो। उहाँको चलचित्रहरूले घरेलु बजारमा दशदेखी बीस करोडसम्म कुल व्यापार गरेको तथ्याङ्क छ।

पछिल्लो चलचित्र ‘छक्का पञ्जा ४’ ले बीस करोडको हाराहारीमा व्यापार गरेको तथ्याङ्क चलचित्र विकास बोर्डले सार्वजनिक गरेको थियो। अभिनेता गिरीले भने व्यापारको विवरण सार्वजनिक गरेर विवाद ल्याउने कार्य नगर्ने बताउनुभयो। “हाम्रो उदेश्य हामीलाई विश्वास गर्ने दर्शकलाई मनोरञ्जन दिनु हो। बोर्डले सार्वजनिक गरेको विवरण र हाम्रो विवरण फरक छ। तर मलाई व्यापारको बहस गरेर विवाद निम्त्याउनु छैन”,अभिनेता गिरीले भन्नुभयो। उहाँ नयाँ चलचित्रको तयारीमा जुट्नु भएको छ। आउँदो साउनसम्ममा छायाङ्कनमा जाने र फागुन तथा चैतको समयमा प्रदर्शन गर्ने योजना छ।

“बन्ने चलचित्र छक्का पञ्जा शृङ्खलाकै निरन्तरता हुन्छ कि हुदैन भन्ने तय भएको छैन। लेखन सकिएपछि निर्णय लिने छौँ”,निर्माता निर्मल शर्माले बताउनुभयो। यद्यपी अभिनेता गिरीको समूहलाई अन्तर्राष्ट्रिय बजारबाट समेत ‘छक्का पञ्जा ५’ बनाउन आग्रह अईरहेको छ। पाँचौँ शृङ्खलाको विदेश प्रदर्शनको अधिकार खरीद गर्न विभिन्न कम्पनिले अभिनेता गिरीसँग संवाद गरिरहेका छन्।

कमेन्ट गर्नुहोस्