फिल्म । अभिनेत्री बेनिशा हमालको अभिनय रहेको फिल्म ‘उपहार’आउँदो शुक्रबार अर्थात् फागुन २५ मा प्रदर्शन हुँदैछ । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्ममा अभिनेत्री हमालले वकिलको भूमिका निर्वाह गरेकी छिन् । म्युजिक भिडियो हुँदै फिल्ममा उदाएकी अभिनेत्री हमालले अब आफूलाई टिनएज गर्लको भूमिका नसुहाउने भन्दै प्रभावात्मक भूमिकातर्फ सोच बढेको बताएकी छिन् ।
‘मैले आफ्नो प्रस्तुतीकरणमा केही भिन्नता ल्याउने सोचसहित नै उपहारमा काम गरेकी हुँ । किनकि सधै एकै किसिमको भूमिकामा देख्दा दर्शकलाई न्याय गरेको हुँदैन । फिल्ममा दर्शकले अघिल्ला भन्दा भिन्न बेनिशा पाउनुहुन्छ’, उनले भनिन् ।
उनले कलाकारको काम फिल्ममा अभिनय गर्ने मात्र नभई व्यावसायिक रुपमा सफल बनाउनु पनि दायित्व रहनेमा जोड दिईन । किनकि उनी फिल्म प्रचारमा निर्माण पक्ष झैँ कलाकारले पनि साथ दिनुपर्ने विचार राख्छिन ।
रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।











