नेपालसँगै अष्ट्रेलियामा ‘जारी’

फिल्म। नेपालसँगै आउँदो नयाँवर्षमा अष्ट्रेलियाको विभिन्न सहरमा फिल्म ‘जारी’ प्रदर्शन हुँदैछ। कवि/कथाकार उपेन्द्र सुब्बाको डेब्यु निर्देशन रहेको फिल्म ‘जारी’ मा लिम्बू समुदायमा बिहेमा पतिले वचनका साथ सिक्का (युप्पारुङ) दिइने चलनमा आधारित छ। त्यो युप्पारुङमा चेलीको आत्मनिर्णयको अधिकार समाहित हुन्छ। सार्वजनिक ट्रेलर र गीतसङ्गीतको कारण चर्चामा रहेको फिल्मलाई अष्ट्रेलियाको विभिन्न सहरमा रोशन भट्टराईले वितरण गर्दैछन्। यसअगाडी ‘कबड्डी ४ : द फाईनल म्याच’ को वितरण गरेका भट्टराईले अप्रिल १६ र १७ मा सिड्नी र १८, २१ र २३ मा क्यानवेरामा प्रदर्शन हुने जानकारी दिए।

‘प्रवासमा मौलिक नेपाली फिल्मलाई दर्शकले रोजाईमा पार्दै आउनु भएको छ। उहाँहरूकै रोजाईलाई बुझेर हाम्रो समूहले फिल्मलाई अष्ट्रेलियामा प्रदर्शन गर्दैछौँ’, वितरक भट्टराईले भने,’बाँकी सहरमा अप्रिल महिना भित्रमै प्रदर्शन गर्नेछौं। फिल्मलाई लिएर दर्शक सकारात्मक हुनुहुन्छ।’ ‘कबड्डी’ का शृङ्खलामार्फत लेखनमा सक्रिय सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि तयार गरेका हुन्। लिम्बू समुदायका महिलाको विद्रोह देखाइएको ‘जारी’ को सुरूआत उपन्यासबाट भएको थियो। ‘म चलचित्र लेखन सक्छु तर नाटक सक्दिनँ। किनकि म भित्र त्यो धैर्य नै छैन’, निर्देशक सुब्बाले भने। उनले लेखिएको उपन्यासलाई साथीहरूसँगको सल्लाह पश्चात चलचित्रको पटकथामा रूपान्तरण गरेका हुन्।

कमेन्ट गर्नुहोस्