फिल्म। चैत २४ गतेबाट फिल्म ‘बहाव’ प्रदर्शन हुँदैछ। बनिरहेका फिल्मको तुलनामा फरक देखिएको बहावको डायलग अहिले टिकटकमा लोकप्रिय भईरहेको छ। प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्मले अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक अन्तरद्वन्द्वलाई प्रस्तुत गरेको छ । निर्देशक कँडेलले फिल्मको केही घटनाक्रम आफैँसँग मिल्दो देखिएको बताए।
‘मैले भोगेको जीवनलाई यसमा प्रस्तुत गरेको छु। मेरो भोगाई एउटा पात्रमार्फत प्रस्तुत गरिएको छ। यो हाम्रै समाजसँग जोडिएको कथा हो’, निर्देशक कँडेलले भने,’कथ्यशैलीमा केही परिवर्तन ल्याउने प्रयाश गरेका छौँ। नेपालीपनसँगै नेपाली कथा बोकेको फिल्म हो।’
सन्ध्यामार्फत चितवनको विद्यार्थीलाई चित्रण गरिरहेकी अभिनेत्री पन्तले फिल्ममा चितवन र परिवेशलाई देख्न पाइने बताइन। ‘म कलाकारका हिसाबले यो कथालाई दर्शकसम्म पुर्याउन पाउँदा खुसी छु। यो समाजमा भएको तर नदेखिएको कथा हो’, अभिनेत्री पन्तले भनिन्,’मेरो जीवनीसँग पनि केही मेल खान्छ। यसमा मैले जीवनलाई फरक किसिमले बुझ्ने मौका पाएकी छु।’
अभिनेता नेपालले फिल्मको एक दृश्यमा सुरक्षासँग अभिनय गर्दा भावुक भएको जानकारी दिए। ‘हामीले समाजको चरित्र लिँदा त्यसको सारतत्व लिने हो । सुरक्षाले सन्ध्याको चरित्र निर्वाह गरिरहँदा मैले मेरो बुवा अथवा काकाबाट आफ्नो सारतत्व लिएको थिएँ । सन्ध्या र म बीच संवाद हुँदा त्यो दृश्यले मलाई भावुक बनायो’, अभिनेता नेपालले भने, ‘मेरो घरमा छोरी पनि छिन् । यो दृश्य खिचिरहँदा एउटा यस्तो परिस्थिति थियो, जहाँ म छोरीलाई माया पनि गर्छु, छोरी प्रति घृणा पनि गर्छु । त्यो अवस्थामा आफूलाई रोक्न सकिनँ । दर्शकले यो दृश्य हेर्दा कहीँ न कतै आफूलाई पाउनुहुनेछ ।’
निर्माता श्रीधर पौडेलले भन्नु पर्ने कथा सुनेकोले मात्र लगानीकर्ता बनेको बताए। ‘मैले किन बनाउने भन्ने प्रश्न नगरेको होइन , किनकि म व्यापारसँग साक्षात्कार छु। तर निर्देशकले भनेको कुराहरूले मलाई लगानी गर्नुपर्छ भन्ने लाग्यो’, निर्माता पौडेलले भने। उनी फोटोपत्रकार समेत हुन्। उनले यसअगाडी ‘गोपी’ निर्माण गरेका थिए। स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको ‘बहाव’ ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ थिममा आधारित छ । फिल्ममा अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको पनि अभिनय छ ।











