अनुपमले लेखन र निर्देशन कार्यशाला गर्ने

फिल्म। चलचित्र विकास बोर्डले पटकथा लेखन र निर्देशन बिषयमा तीन दिने बिशेष कार्यशाला आयोजना गर्ने भएको छ । भारतीय फिल्ममेकर तथा पूर्व एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे)का एसोसिएट प्रोफेसर अनुपम बर्वेको साथमा आगामी चैत्र ३ देखि ५ गतेसम्म कार्यशाला आयोजना हुन लागेको हो ।बोर्डको हलमा हुने कार्यशाला दैनिक बिहान १०:३० बजेदेखि दिउसो ३:३० बजेसम्म सञ्चालन हुनेछ । कार्यशालामा सहभागिता जनाउन बोर्डको वेबसाइट तथा सोसल प्रोफाईलमा रहेको फारम भर्नुपर्ने हुन्छ ।

बर्वे भारतको पुणे स्थित चलचित्र र थिएटर निर्देशक र चलचित्र शिक्षक हुन् । उनि पछिल्लो समय एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे)मा फिल्म निर्देशनको एसोसिएट प्रोफेसर रहेका थिए । उनले पुणे विश्वविद्यालयबाट बीए (पर्फमिङ्ग आर्ट) र लण्डनको वेस्टमिन्स्टर विश्वविद्यालयबाट एमए (फिल्म तथा टेलिभिजन निर्देशन) गरेका छन्।

उनि हाल यास्मिना रेजाको टोनी अवार्ड जितेको ब्ल्याक कमेडी ‘गड अफ कार्नेज’को मराठी रूपान्तरण नाटक ‘उछाड’को निर्देशनमा व्यस्त छन् । उनले मानसिक स्वास्थ्यमा आधारित ‘गोष्ट अहे पृथ्वीमोलाची’ नामक श्रृंखालाको ६ भागको निर्माण तथा निर्देशन गरेका छन् । उनले कामुकता र आत्म-प्रभावकारिता वरपरका कथाहरूमा आधारित ‘सेफ जर्नीज’ शीर्षकमा आठ भागको वेब सिरिजको निर्माण र निर्देशन पनि गरेका छन् ।

कमेन्ट गर्नुहोस्