प्रदीपको जोडी नीति

फिल्म। दीपक वलीको निर्देशन रहने फिल्म ‘कामिनो’ मा अभिनेत्रीको रुपमा नीति शाह भित्रिएकी छन् । निर्देशक वलीले फिल्म अभिनयका लागि शाहसँग बुधबार सम्झौता गरेका हुन् । फिल्ममा उनी अभिनेता प्रदीप खड्काको जोडीको रुपमा देखिने निर्देशक वलीले जानकारी दिए । फिल्म ‘हुतुतु’ र ‘एक्स ९’मा जोडिए पनि फिल्म छायांकन नभएकोले अभिनय अवसर नपाएकी नीतिले ‘कामिनो’ मार्फत डेब्यु गर्न लागेकी हुन् । फिल्मको अतिथि भूमिकाको लागि केही अगाडी अभिनेत्री वर्षा सिवाकोटी भित्रिएकी थिइन् ।

फिल्म जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामाथि बन्न लागेको हो । एक्सेस नेपाल फिल्मस्को निर्माण रहने फिल्मको नेपालका साथै ल्याटिन अमेरिकाको विभिन्न स्थानमा छायांकन हुनेछ । फिल्म प्रेम, रोमान्स र सस्पेन्सयुक्त रहने निर्देशक वलीले बताए । सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको संगीत, रहने ‘कामिनो’ को दिनेश प्रकाश महरा प्रोडक्शन डिजाइनमा छन् । आगामी चैत्र तेश्रो साताबाट छायांकन सुरु हुने फिल्म नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा रिलिज हुनेछ । स्पेनिस भाषामा ‘कामिनो’ को अर्थ बाटो हुन्छ ।

कमेन्ट गर्नुहोस्