देश । लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएकोछ। सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा क्याफे’ को नाट्य रुपान्तरण काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सवको क्रममा बुधबार सार्वजनिक गरिएको हो। लेखक वाग्लेको मदन पुरस्कार प्राप्त पुस्तकको नाट्य रूपान्तरण लेखक सुरज सुवेदीले गर्नुभएको हो ।
नाट्य रूपान्तरको अनुभव सुनाउँदै सुवेदीले उपन्यास भन्दा अगाडी पुगेर कथावस्तुमालाई ड्रामाको रूपमा तयार गरिएको जानकारी दिनुभयो । “अहिलेसमयबाट पछाडी फर्किएर नाट्य स्वरूप दिइएको छ । उपन्यासको मर्म कायम राखेर नाटक बनाएका हौँ”, लेखक सुवेदीले भन्नुभयो,“नाट्य रूपान्तरणमा पात्रको संवाद, उपस्थिति पनि बढेका छन् । यहाँ द्वन्द्वमा बेपत्ता भएकाको पर्खाइमा रहेका परिवारको माध्यमबाट कथा भनिएको छ ।”
कल्पनाशीलता प्रयोग गरिएका कारण पुस्तक उपन्यास जस्तै नरहेको समेत लेखक सुवेदीले प्रस्ट्याउनु भयो । उहाँको अनुसार उपन्यासमा दृश्य र पल्पसा प्रमुख पात्र थिए भने नाटकले उनीहरूलाई पर्खेर बसेकी हजुरआमाको कोणबाट कथा भनेको छ। यसका लागि उपन्यासकार वाग्लेले पूर्ण स्वतन्त्रता दिएको जानकारी दिनुभयो । विमोचन कार्यक्रममा लेखक सुवेदी र कवि नवराज पराजुलीले पुस्तकको अंश वाचन गर्नुभएको थियो। उपन्यास ‘पल्पसा क्याफे’ अंग्रेजी, कोरियन, फ्रेन्च र सिंहली भाषामा अनुवाद भइसकेको छ ।








