देश । नेपाली कांग्रेसका युवा नेता कल्याणकुमार गुरुङ महोत्तरी–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन्। नेता गुरुङलाई प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले पहिलो नम्बरमा जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो।
कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य गुरुङसँगै अन्य ५ जनाको नाम पनि प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरिएको छ। १२ औँ महाधिवेशनमा आमन्त्रित केन्द्रीय सदस्य रहेका गुरुङ १३ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य थिए। अहिले उनी कांग्रेसको केन्द्रीय कार्यसमितिमा मनोनित केन्द्रीय सदस्य छन्।
२०७४ को प्रतिनिधिसभामा महोत्तरी–१ बाट नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २३ हजार ७ सय ७६ मतले विजयी भएका थिए। तत्कालीन समयमा नेकपा एमालेसँगको चुनावी तालमेलका कांग्रेस तेस्रो भएको थियो।
कांग्रेस उम्मेदवार सीताराम भण्डारी ९ हजार ४ सय ७५ मतका साथ तेस्रो हुँदा दोस्रो स्थानमा आएका तत्कालीन संघीय समाजवादी फोरम नेपालका लक्ष्मी महतोले १९ हजार ४ सय ९२ मत प्राप्त गरेका थिए।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार महोत्तरी–१ मा माओवादी १५ हजार ८ सय ८८ मतसहित पहिलो, कांग्रेस १३ हजार १ सय ४६ मतसहित दोस्रो, एमाले ८ हजार ३४ मतसहित तेस्रो देखिएको छ। यसैले गर्दा पनि नेता गुरुङले क्षेत्रबाट कार्यकर्ताको रोजाईमा परेका हुन् ।








