देश । नेपाल उद्योग वाणिज्य महासंघले पछिल्लो देशमा दोस्रो लहर अन्तर्गत बढिरहेको कोरोना भाइरस (कोभिड-१९ ) लक्षित गरी हेलो डाक्टर अभियान सुरु गरेको छ । भाइवरसँग सहकार्य गरि ल्याइएको यस अभियानका दौरान डाक्टर अन कलका चिकित्सकले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह दिने छन् । यस अभियानलाई ‘एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल’ नाम दिइएको छ ।
५ जना डाक्टरहरूबाट थालिएको यो सेवा अन्तर्गत कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाले हेल्लो डाक्टर मार्फत परामर्श लिन लिन सक्नेछन् । हेल्लो डाक्टर, भाइवर मार्फत कोभिड संक्रमित विरामी र डक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने महासंघले जनाएको छ । यसका लागि विहान ९ बजे देखि १२ बजेसम्म र दिउसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्टयाइएको महासंघले जनाएको छ ।
नाम दर्ता गर्न विरामीले २११११२११११ भाइवर नम्वरमा म्यासेज गर्नुपर्नेछ । सोही म्यासेजका आधारमा डाक्टरसंगको परामर्शको समय विरामीलाई पठाइने छ । तत्पश्चात डाक्टरहरूले भिडियो कल मार्फत विरामीहरूसंग संवाद गरी स्वास्थ्य परामर्श दिने छन् । म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने छ भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्ने छन् ।
रोग संक्रमितहरूलाई प्रविधिको प्रयोग मार्फत डाक्टरहरूसंग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपतकालिन अवस्थामा बाहेक अस्पतालसम्म जान नपर्ने वातावरण बनाई दिने उद्देश्य अनुरुप यो कार्यक्रमको थालनी गरिएको महासंघको भनाई छ ।











